‘एनआरएनएको साझा मुल्य, मान्यता र परम्परालाई नतोडौं’

लन्डन – प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले एनआरएनएले दशौ बर्ष लगाएर स्थापीत गरेको साझा मुल्य, मान्यता र परम्परालाई नतोडन् आग्रह गर्नु भएको छ । अध्यक्ष गुरुङले संस्थामा राजनीतिकरण भइरहेको भन्दै वर्षौदेखिको मूल्य मान्यता र परम्परा नतोड्न आग्रह गर्नु भएको हो ।

उहाँले प्रवासमा नेपाली राजनीति गर्नलाई आ-आफ्नो भातृसंस्थाहरु काफी रहेको बताउँदै एनआरएनलाई सबैको साझा संस्था बनाउन र यसको बिधानको प्रस्तावनामै लेखिएको एनआरएनए गैरराजनीतिक संस्था हो भन्ने बैधानिक ब्यबस्थालाई सम्मान गर्न सबैमा अपिल गर्नु भयो ।

उहाँले थप्दै भन्नु भयो, ‘कुनै अमुख पार्टीले फलानाको नेतृत्वको टिमको यो मेरो पार्टीको टिमलाई जिताउ भनेर सर्कुलर जारी नगराऔँ, यसो गर्नु बढी नै हुन्छ, राजनीतिक आस्था सबैको हुन्छ, ती कुराहरुलाई पनि समेटेर सबैजना टिममा रहेर नै एउटा साझा एनआरएनए बनाएर पालैपालो काम गरौ, एनआरएनएले दशौ बर्ष लगाएर स्थापीत गरेको साझा मुल्य, मान्यता र परम्परालाई नतोडौं।’

उहाँले एनआरएनएको नेता बन्छु भन्नेहरुले एनआरएनएको उद्देश्यलाई भुल्न नहुने पनि बताउनु भयो । उहाँले एउटा राजनीतिक दलको सर्कुलर जारी गराएर सबै महादेशको समेत बॉडफॉट गराएर नेता तोकेर केको घिनलाग्दो राजनीति गराएको ? भन्दै कांग्रेसलाई अनावश्यक राजनीतिक हस्तक्षेप नगर्न पनि आग्रह गर्नु भयो ।

‘के ती नेताहरुले नेपालको राजनीति छोडी सकेको हो र ? के उहॉहरु बिदेशमा बस्न थाल्नुभयो र एनआरएन भईसक्नुभयो र ? नेपालको राजनीति एमालेलाई जिम्मा लगाई सकेको हो र ? उहॉहरु यति कमजोर भईसक्नुभयो की निर्लज्ज भएर एनआरएनएमा राजनीति गर्न आउनुपर्यो ? ती नेताहरुलाई एनआरएनएमा राजनीति गर्न तानेर लिएर आउने के नैतिकताले अब एनआरएनएको अध्यक्ष, उपाध्यक्ष, महासचिव बन्नुहुन्छ ? तपाईहरुले त्यो नैतिक र बैधानिक अधिकार गुमाउनुभएन र ? एनआरएनएको अन्तर्राष्ट्रिय अध्यक्ष हुन्छु भन्नेले एनआरएनएको यो मुल्य बुझ्नुपर्दैन ?’ उहाँले प्रश्न गर्दै भन्नु भयो ।

उहाँले नेताहरुले कानुनी, बैधानिक र नैतिक अधिकार सबै गुमाउदैन गएको जिकिर पनि गर्नु भयो ।


प्रकाशित | १८ आश्विन २०७८, सोमबार १०:२२