हवाई उडानमा नयाँ मापदण्ड: अब ज्वरो र खोकी लागेकालाई उड्न निषेध

काठमाडौँ : सरकारले वायु सेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड ल्याएको छ । मापदण्डअनुसार खोकी, ज्वरो, सास फेर्न समस्या भएको तथा स्वाद र गन्ध थाहा नपाउने अवस्थाका व्यक्तिलाई उडानमा पूर्ण रूपमा निषेध गरिएको छ । यात्रुले वायु सेवा सञ्चालकले उपलब्ध गराउने फाराम भरेर आफू पूर्ण रूपमा स्वस्थ भएको स्वघोषणा गर्नुपर्ने छ ।

त्यस्तै, यात्राको क्रममा अनिवार्य मेडिकल मास्क लगाउनुपर्ने र यात्राभर आफूलाई आवश्यक मास्क आफैँ व्यवस्था गर्नुपर्नेसमेत उल्लेख गरिएको छ । साथै यात्रुले उडान जाँचदेखि लगेज लिने प्रक्रियासम्म कम्तीमा एक मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

मापदण्डअनुसार अहिलेको समयमा उडानका क्रममा यात्रुलाई पत्रपत्रिका तथा म्यागेजिन उपलब्ध गरिने छैन । आन्तरिक उडानमा खानपिनको व्यवस्थामासमेत रोक लगाइएको छ ।

त्यस्तैगरि, अति आवश्यकलाई मात्र विमानस्थलमा ट्रली उपयोग गर्न दिइने छ । ७० वर्ष उमेरमाथिका वृद्धवृद्धा, गभर्वती र गम्भीर स्वास्थ्य समस्या भएकालाई सकेसम्म उडान नगर्न आग्रह गरिएको छ । उडानमा जनावर लैजान पाइने छैन ।

साथै, वायु सेवा सञ्चालकले यात्रुले प्रस्ट रूपमा देख्नसक्ने गरी गर्नुहुने तथा नहुने क्रियाकलापसहितका सूचना पम्लेट अथवा डिस्प्लेमार्फत सम्प्रेषण गर्नुपर्ने छ । यात्रुले आफ्नो लगेज सजिलै पहिचान गर्नसक्ने गरी व्यवस्था गर्नुपर्ने मापदण्ड बनाइएको छ ।

वायु सेवा सञ्चालकले उडान सञ्चालनसम्बन्धी कार्यविधि जारी गर्नुपर्ने छ र त्यस्तो कार्यविधि सम्पूर्ण कर्मचारीलाई उपलब्ध गराउनुपर्ने छ । यात्रु जाँचपासका क्रममा सामाजिक दूरी कायम गराउनेसहित स्यानिटाइजरलगायत स्वास्थ्य सुरक्षाका लागि आवश्यक व्यवस्था पनि सञ्चालकले नै गर्नुपर्ने मापदण्डमा उल्लेख छ । कोभिड १९ को सङ्क्रमण रोक्न कर्मचारीलाई त्यसको लक्षण पहिचान गर्नसक्ने गरी आवश्यक तालिम उपलब्ध गराउने काम पनि सञ्चालकले गर्नुपर्ने छ । जाँचपासको समयमा पारदर्शी सीसाको प्रयोग अनिवार्य गरिएको छ ।

यात्रुलाई जहाजसम्म पु¥याउने बसलाई हरेकपटकको यात्रापछि डिस्इन्फेक्ट गर्नुपर्ने छ । जहाजका चालक दल सदस्यले मास्क, चस्मासहित आवश्यकताअनुरूप पीपीईको समेत प्रयोग गर्नुपर्ने छ । उडानपूर्व चालकदल सदस्यको पनि अनिवार्य रूपमा ज्वरो मापन गर्नुपर्नेछ । सुरक्षा जाँचमा रहने व्यक्तिले अनिवार्य पीपीई लगाउनुपर्ने र हरेकपटकको जाँचपछि उपकरण डिस्इन्फेक्ट गर्नुपर्ने छ । विमानस्थल व्यवस्थापकले हरेक समय विमानस्थललाई सफा र स्वास्थ्यको हिसाबले सुरक्षित राख्नुपर्ने छ । मापदण्डमा उल्लेखित कुनै पनि कुराको उल्लङ्घन भएमा कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनीकमा विश्वास रेग्मीले लेख्नुभएको छ ।


प्रकाशित | २४ जेष्ठ २०७७, शनिबार १३:१२