तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सकियो, २८ बुँदे लन्डन घोषणापत्र जारी (पूर्णपाठसहित)

लन्डन-  २८ बुँदे लन्डन घोषणा पत्र जारी गर्दै तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ। ‘महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा देखाएको धैर्य र साहसको लागी सबै नेपाली स्वास्थ्यकर्मी र आम नेपाली नागरिकको सराहना गरेको छ।

“स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार रहेको, जीवनको निरन्तरताको लागि अमूल्य निधि भएको र हरेक राष्ट्रको सामाजिक जीवनस्तर वृद्धिका लागि प्राथमिक तत्व भएको कुरामा विश्वस्त छौं I नेपालीहरूलाई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्न हामी हरेकको अद्वितीय भूमिका रहेको र यस क्षेत्रमा योगदान दिनु हुने सम्पूर्ण व्यक्ति, संस्था र साझेदारहरूको योगदानको कदर गर्दै उहाँहरूलाई सहयोगको प्रतिवद्धता जाहेर गर्दछौं”, घोषणापत्रमा भनिएको छ।

सम्मेलनले संसारभरि रहेका नेपाली विशेषज्ञ तथा विज्ञ जनशक्तिहरुको सिप, अनुभव एवं सम्पर्क संजाल नेपालको विकास र उन्नयनमा उपयोग गर्नका लागि नीतिगत व्यवस्था गरी एक संयन्त्र स्थापना गर्न नेपाल सरकारलाई आह्वान गरेको छ।

समापन समारोहमा एनआरएनएका केन्द्रीय उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेम राज शर्मा, दक्षिण कोरियाका डा देवी बस्नेत लगायतका वक्ताले सम्मेलन कोभिड महामारीका बेला जनचेतना जगाउन उपयोगी भएको बताउनु भयो । पत्रकार भगीरथ योगी तथा डा. दिनेश ज्ञवालीले अंग्रेजी तथा नेपाली भाषामा घोषणापत्र पढेर सुनाउनु भएको थियो ।

शुक्रबारदेखि विभिन्न सत्रहरु संचालन गरिएको र शनिबार लन्डनस्थित नेपाली दूतावासमा औपचारिक रुपमा शुरुवात गरिएको सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिएका थिए भने ५० भन्दा बढी कार्यशाला संचालन भएका थिए।

एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा.सञ्जीव सापकोटाले यो सम्मेलन नेपाल बाहिर आयोजना गरिएको स्वास्थ्य सम्बन्धी सबैभन्दा ठूलो फोरम भएको बताउनु भयो । उहाँले महामारीको बेलामा नेपालीहरुको स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा तीन दिने सम्मेलन केन्द्रित रहेको दिनु भयो ।

स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठ तथा बेलायतका लागि नेपाली राजदूत लोक दर्शन रेग्मीले नेपालबाट संयुक्तरुपमा उद्घाटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै राज्य मन्त्री  श्रेष्ठले कोरोना महामारीको शुरु देखि नै नेपाल र नेपालीलाई सघाएकोमा गैर आवासीय नेपाली संघ तथा संसार भरि रहेका नेपाली चिकित्साकर्मीहरुलाई धन्यवाद दिनु भयो । उहाँले नेपाल सरकारले जोखिममा रहेका सबै जनतालाई खोप पुर्याउने कामलाई सर्वोच्च प्राथमिकता दिएको जनाउनु भयो ।

कार्यक्रममा नेपालका लागि ब्रिटिश राजदूत निकोल पोलिट, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, नेपाल नर्सिङ्ग संघकी अध्यक्ष प्रा. मन कुमारी राई, वायल कलेज अफ सर्जन्स एडिनबराका प्राध्यापक माइकेल ग्रीफिन, वायल कलेज अफ नर्सिङ्गकी उपाध्यक्ष ट्रेसी बडिंग, शेफिल्ड विश्वविद्यालायका प्राध्यापक एन्ड्रयु लि, सम्मेलनको सहआयोजक तथा एनआरएनए एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगर लगायतका वक्ताले शुभकामना दिनु भएको थियो ।

सम्मेलनको वैज्ञानिक समितिका अध्यक्ष प्रा. पदम सिम्खडा तथा डा. बोधराज सुबेदीले सम्मेलनको कार्यक्रम पुस्तिका सार्वजनिक गर्नु भएको थियो ।  सम्मेलनले ​एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन अष्ट्रेलियामा गर्ने निर्णय समेत गरेको छ ।

यस्तो छ, घोषणापत्र

१. हामीले कोभिड-१९ महामारीले निम्त्याएको अभूतपूर्व चुनौतीहरूको सामना गर्दै सशक्त रूपमा अगाड़ी बढ़ी रहनुभएका सम्पूर्ण नेपाली जनसमुदाय र परिवारहरूको मनोबल उच्च रहिरहोस भन्ने यस सम्मेलनको नारा नै ‘महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ राखेका छौं।

२. कोरोना भाईरसको महामारी बाट हामी कोही पनि अछूतो छैनौ I यद्यपि यो महामारीले स्वास्थ्यको निदान, उपचार र रोकथामका क्षेत्रमा कार्यरत तमाम विज्ञहरू एकताबद्ध हुने एउटा अवसर प्रदान गरेको छ I स्वास्थ्य प्रयोगशालाहरूको स्तरवृद्धि, चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मीहरूको सुरक्षा, सुरक्षा उपकरणको उपलब्धता, अत्यावश्यक औषधि र खोपको व्यवस्था, केही यस्ता समस्याहरू हाम्रा माझ छन् जसलाइ यो महामारी र भविष्यका लागी पनि हामीले काम गर्नु पर्ने छ I हामी यस विषम परिस्थितिमा देखाउनु भएको धैर्य र साहसको लागी सबै नेपाली स्वास्थ्यकर्मी र आम नेपाली नागरिकको सराहना गर्दछौं I

३. हामी, स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार रहेको, जीवनको निरंतरताको लागि अमूल्य निधि भएको, र हरेक राष्ट्रको सामाजिक जीवनस्तर वृद्धिका लागि प्राथमिक तत्व भएको कुरामा विश्वस्त छौं I

४. नेपालीहरूलाई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्न हामी हरेकको अद्वितीय भूमिका रहेको र यस क्षेत्रमा योगदान दिनु हुने सम्पूर्ण व्यक्ति, संस्था र साझेदारहरूको योगदानको कदर गर्दै उहाँहरूलाई सहयोगको प्रतिवद्धता जाहेर गर्दछौं I

५. हामी, नेपाल भित्र वा बाहिर रहनु भएका, स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै चिकित्सक, नर्स, जनस्वास्थ्य विज्ञ, र स्वास्थ्यका विविध पाटाहरुमा सेवा गर्नु हुने सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई संगठित भई हातेमालो गरी, नेपालीहरूको स्वास्थ्यका विषयमा सूचना आदानप्रदान, सरसल्लाह, सिप विकास र अनुभव साटासाट गर्ने साझा संजालको विकास गर्न आव्हान गर्दछौ I यसैगरी संसारभरि रहेका नेपाली विशेषज्ञ तथा विज्ञ जनशक्तिहरुको सिप, अनुभव एवं सम्पर्क संजाल नेपालको विकास र उन्नयनमा उपयोग गर्नका लागि नीतिगत व्यवस्था गरी एक संयन्त्र स्थापना गर्न यो सम्मेलन नेपाल सरकारलाई आह्वान गर्दछ ।

६. हामी महामारी जस्तो प्रतिकूल परिस्थितिमा पनि तमाम चुनौती, बाधाहरू र स्रोत र साधनको अभावका बीच धैर्य र साहसकासाथ नेपाली समुदायलाई सुरक्षित महसूस गराउन भरपूर प्रयास गर्नु हुने सम्पूर्ण जनस्वास्थ्य विशेषज्ञहरूको कदर गर्दछौं I साथै यस्ता कार्यमा अग्रसर रहनु हुने सबै जनस्वास्थ्यकर्मी, संक्रामक रोग विशेषज्ञहरु, सामाजिक कार्यकर्ता, नीति निर्माताहरू लगायत प्रत्यक्ष- अप्रत्यक्ष रूपमा संलग्न सबैको कार्यमा सहमति जनाऊँछौं I

७. हामी, नेपाली मूलका चिकित्सकहरू जो यूरोप, अस्ट्रेलिया, अमेरिका, अफ्रिका, मध्यपूर्वमा रही, विभिन्न संस्थाहरूमा रहेर वा नरहेर काम गरी रहेका छौं, यो कुरामा सहमत छौं कि यसै सम्मेलन मार्फ़त नेपाली चिकित्सकहरूको विश्वव्यापी संजालमा आवद्ध रही, हामी नेपाली समुदायको स्वास्थ्य सेवामा पहुँच र गुणस्तर वृद्धिको लागी संवाद र सहकार्य गर्ने छौं I

८. हामी, नेपाली मूलका नर्सहरू जो यूरोप, अस्ट्रेलिया, अमेरिका, अफ्रिका, मध्यपूर्वमा रही, विभिन्न संस्थाहरूमा रहेर वा नरहेर काम गरी रहेका छौं, यो कुरामा सहमत छौं कि यसै सम्मेलन मार्फ़त नेपाली नर्सहरूको विश्वव्यापी संजालमा आवद्ध रही, हामी नेपाली समुदायको स्वास्थ्य सेवामा पहुँच र गुणस्तर वृद्धिको लागी सम्बाद र सहकार्य गर्ने छौं I हामी यो सम्मलेन मार्फ़त नेपाली नर्सहरूको विश्व संजाल निर्माण गर्न पाउँदा गौरवान्वित छौं I

९. मानसिक स्वास्थ्य विना सम्पूर्ण स्वास्थ्य सम्भव छैन I मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्नु भएका नेपाली मूलका मनोरोग विशेषज्ञ, मनोविद, मानसिक सल्लाहकार, व्यवहारजनित रोग र कुलतका क्षेत्रमा काम गर्नु हुने सम्पूर्ण महानुभावहरूलाई यसै सम्मेलन मार्फ़त निर्माण गरिएको मानसिक स्वास्थ्यको विश्वव्यापि संजालमा आवद्ध हुन आव्हान गर्दछौ I

१०. हामी नेपाल सरकारको राष्ट्रीय रोग रोकथाम केंद्र (Center for Disease Control – CDC Nepal) स्थापना गर्ने राष्ट्रिय स्वास्थ्य नीतिको समर्थन र स्वागत गर्दछौ I

११. स्वास्थ्यमा वैकल्पिक चिकित्सा, योग, आयुर्वेद, होमियोपेथि, अकुपंचरको अद्वितीय योगदान, प्रभावकारिता, र महत्व परापूर्व कालदेखि आधुनिक विज्ञान सम्मले स्वीकार गरेको सर्वविदित छ I स्वास्थ्यको रक्षा र विविध जटिल समस्याहरूको निराकरणमा प्रभावकारी हुने भएपनि यो क्षेत्रले पाउनु पर्ने जति महत्व नपाएको तीतो यथार्थ हामी सामु छ I हामी, आयुर्वेद र वैकल्पिक चिकित्साद्वारा नेपाल भित्र र बाहिर रहेका नेपालीहरूलाई फाइदा हुने गरी यिनको प्रचारप्रसार, अनुसंधान, जडिबूटीजन्य औषधिहरूको उत्पादन र सर्वसुलभता होस भन्ने कुरामा ऐक्यवद्ध छौं I

१२. स्वास्थ्यमा अनुसंधानको ठूलो महत्त्व छ I यद्यपि नेपाली शोधकर्ताहरूले आफ़नो क्षमताले गर्न सक्ने अनुसंधान अनुरूप पर्याप्त श्रोत र साधन नपाएको कुरा सर्वविदित छ I हामी ती चुनौतीहरू बारे अवगत छौं र तिनको निराकरणका लागी सक्दो प्रयास गर्ने छौं भन्ने कुरामा विश्वास दिलाउन चाहछौं I साथै नेपालीहरूको स्वास्थ्यका विषयमा एक अन्तरराष्ट्रिय स्तरको रिसर्च जर्नलको प्रकाशन पनि हाम्रो प्राथमिकताको विषय भएको जानकारी गराउन चाहन्छौं I

१३. रोग रोकथाम तथा उपचार, महिलाको स्वास्थ्य, तथा आमा तथा शिशुको स्वास्थ्यले परिवार, समाज र सम्पूर्ण राष्ट्रको दशा बताउने भएपनि विश्वभरिका महिला, आमा तथा नवजात शिशुहरूले सामना गर्ने समस्याहरू साझा छन् I यो सम्मेलन महिला, आमा तथा नवजात शिशुहरूको स्वास्थ्यका क्षेत्रमा ज़िम्मेवार सबैलाई उनीहरुको स्वास्थ्यमा पहुँच र गुणस्तर वृद्धिका लागि ध्यानआकर्षण गराऊँछ I

१४. बालबालिका, किशोर किशोरी, तथा युवाहरूको स्वास्थ्यले भोलिको पुस्ताको चित्रण ग़र्छ I विद्यालय स्वास्थ्य कार्यक्रम, किशोर किशोरी एवं युवाहरूको स्वास्थ्य प्रवर्धन र स्वस्थ व्यवहारलाई प्रोत्साहित गर्ने कुरामा हामी सबैको एकमत भई विश्वभरका नेपाली मूलका बालबालिका, किशोर किशोरी र युवा वर्गलाई नेपालमा रहेक आफ़ना समकक्षीहरूलाई सहयोग गर्न प्रोत्साहित गर्छौं I

१५. महामारी, प्राकृतिक प्रकोप जस्ता विपदका बेलामा सकेसम्म तुरंत सेवा पूर्याउन सक्ने एक द्रुत चिकित्सा कार्यदल (Rapid Medical Action Team) को व्यवस्था अहिलेको आवश्यकता हो I उक्त संरचना निश्चित संख्याका विज्ञ चिकित्सक, नर्स, लगायतका अन्य स्वास्थ्यकर्मी समावेश गरी २४ घंटा भित्र चाहेको स्थानमा पूर्याउन सक्ने खालको हुन आवश्यक छ I सो कार्यका लागी चाहिने प्राविधिक वा भौतिक सहयोग गर्नुहून सम्पूर्णमा आव्हान गर्दछौं I

१६. हामी मधुमेह, हृदयरोग जस्ता दीर्घ रोगहरूले नेपाली समुदायलाई आक्रांत पारेको तथ्यबारे विदितै छौं I यस्ता दीर्घ रोगको रोकथाम, व्यवस्थापन र स्वास्थ्य संवर्धनका लागि गरिएका कार्यहरू अपुग छन् I सम्पूर्ण स्वास्थ्यको अवधारणालाई मूर्तरूप दिन कूलत र धूमपानको रोकथाम, पोषण, स्वस्थ जीवनशैली र तनाव व्यवस्थापन जस्ता कुराहरू अहिलेका आवश्यकता हुन् I यसो भन्दा यो दीर्घ रोगहरूमा चिकित्साको महत्वलाई अवमूल्यन गरेको नभइ यी विविध तत्वहरूको उपादेयतालाई उजागर गरिएको हो भनी बुझनु पर्ने हुन्छ I

१७. छारे रोग, डिप्रेसन, आत्महत्या लगायतका सामाजिक जनचेतनाको अभाव भाएका कतिपय समस्याहरूले गर्दा हीनताबोध, डर, लाज, र धकका कारण व्यक्तिको स्वास्थ्यमा पहुँच कम हुने हुनाले त्यस विरुद्ध जन चेतनाको विकास गर्ने हरेक पहलमा हाम्रो समर्थन छ I

१८. हामी नेपालीहरूको स्वास्थ्यमा पहुँच पूर्याउन मद्दत गर्ने घुम्ती क्लिनिक, घुम्ती Mammogram, घुम्ती रक्त दान बस, घुम्ती अस्पतालका लागि सहयोग जुटाउने कार्यमा अग्रसर छौ I यसका साथै विभिन्न प्रकारका स्वास्थ्य शिविरहरूको संचालन गरी तथा स्थानीय स्वास्थ्य संस्थालाई प्राविधिक वा भौतिक सहयोग गरी दूर दराजका नेपालीहरूलाई सहयोग गर्नु हून सम्पूर्णमा आव्हान गर्दछौं I

१९. हामी संयुक्त राष्ट्र संघको सहश्राब्दी विकास लक्ष्य अन्तर्गत स्वास्थ्यमा लगानी, पहुँच र सबै विभेदहरूका विरुद्ध लाग्ने प्रस्तावको समर्थन गर्दछौं I

२०. स्वास्थ्यको पहुँचबाट कोही पनि नेपाली विमुख हुन नपरोस भन्ने कुरामा हाम्रो विश्वास व्यक्त गर्न चाहनछौं I साथै सीमांतकृत, भौगोलिक र अन्य कारणले पिछड़ीएका सबै नेपाली जनताले स्वास्थ्य सेवा पाउनु पर्छ भन्ने कुरा दोहोर्याउन चाहन्छौँ I

२१. सबैजना आफ़नो क्षेत्रमा काम गर्दा गर्दै पनि एकजुट हुने हो भने के सम्भव छैन र भन्ने कुरा त सन २०१५ को भूकम्पले देखाइ सक्यो I उक्त पृष्ठभूमिमा सबैले आफ़नो मेहनत, कौशल र सिपलाइ प्रयोग गरी बढी प्रभावकारी योगदान दिन सकिन्छा I साथै विश्वभरका डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरू एकजुट भएर काम गर्नु पर्छ भन्ने हाम्रो मान्यता रहेको छ I

२२. हाम्रो सहकार्य र समन्वयले राष्ट्रिय र अन्तरराष्ट्रिय, सरकारी तथा ग़ैर सरकारी संस्थाहरूमा एक बलियो आवाज़को प्रतिनिधित्व गर्छ भन्ने कुरामा हामी विश्वस्त छौं I हामी निजी-सरकारी-साझेदारीको अवधारणा, गैर आवासीय नेपाली संघभित्रकै समितिहरूको समन्वय र नेपाल सरकारका संघीय र स्थानीय निकायहरू संगको समन्वय र सहकार्य महत्वपूर्ण छ भन्ने कुरामा सहमत छौं I

२३. हामी जाति, लिंग, उमेर, धर्म, पेशा आदि विवधताहरूका आधारमा नेपालीहरूका स्वास्थ्य सम्बन्धी आवश्यकताहरू पनि भिन्न भिन्न छन् भन्ने तथ्यबारे अवगत छौं। मध्यपूर्वमा रहने श्रमिक नेपाली र नाइजेरिया वा अमेरिकामा रहेका नेपालीको अवस्था फ़रक हुनसक्छ I त्यसैगरी विकट हुम्ला जिल्लाकी एक गर्भवती महिला वा सप्तरीका वृद्ध पुरुषको अवस्था एक नहुन सक्छ I हामी हाम्रा स्वास्थ्य सेवाहरू आर्थिक, भौगोलिक, सामाजिक, सांस्कृतिक रूपमा समावेशी, र निपुण होउन् भन्ने कराको वकालत गर्दछौं I

२४. हामी विश्व स्वास्थ्य संगठन, यूनिसेफ़, अन्तरराष्ट्रिय श्रम संगठन, शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायुक्त तथा संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालयको नेपाल भित्र वा बाहिर रहेका श्रमिक नेपालीहरूको स्वास्थ्य सम्बन्धी हक़ अधिकार सुनिश्चीत गर्न महत्वपूर्ण भूमिका छ भन्ने कुरा मान्दछौं I

२५. हामीलाई ज्ञात छ कि नेपालमा स्वास्थ्यकर्मीहरूको पेशालाई सुरक्षित राख्ने व्यावसायिक बिमाको व्यवस्था छैन I नेपाल भित्र वा बाहिर, विशेषत: अमेरिकामा रहेका चिकित्सकहरूले कसरी त्यस्तो बिमा कार्यक्रम नेपालमा पनि लागू गर्न सकिन्छ भन्ने कुरामा आफ़नो अनुभव र सहयोग प्रदान गर्नुहुन हामी आव्हान गर्दछौं I

२६. स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोग, अहिलेको आवश्यकता हो I अन्तरराष्ट्रिय मापदण्ड अनुरूप बिरामीका अभिलेखहरू राख्ने, स्वास्थ्य निर्देशिका अनुरूप काम गर्ने लगायत नेपालको भौगोलिक विविधतालाई मध्यनज़र गरी टेली-मेडिसिनको विकास गर्न अत्यंत ज़रूरी छ I हामी सबै दाता, व्यक्ति तथा संस्थालाई प्राविधिक वा भौतिक सहयोग गरी दूरदराजका नेपालीहरूलाई सहयोग गर्नुहून आव्हान गर्दछौं I

२७. हामी स्वास्थ्य विधा एक निरपेक्ष क्षेत्र नभई अन्य विविध विषय र विधाहरूसँग पनि जोडिएकाले अन्य क्षेत्रका विज्ञ र संघसंस्थाको सहयोग विना नेपालीहरूको स्वास्थ्यको विकास असम्भव प्रायः रहेको मान्दछौं I तसर्थ हामी सबै स्वास्थ्यसँग प्रत्यक्ष वा परोक्ष रूपमा सम्बन्ध राख्ने निकायहरूलाई स्वास्थ्यलाई एकल तत्वको रूपमा नलिई अंतर विधागत विकास नीति निर्माण र अवलम्बनको एक अभिन्न पाटोको रूपमा लिनु हुन आग्रह गर्दछौं I

२८. विश्व स्तरमा नेपालीहरूको स्वास्थ्य संबंधी उपरोक्त अवधारणा र लक्ष्यहरूलाई जीवितै राख्न हामी आगामी वर्षहरू सन २०२२, २०२३, २०२४ लगायत भविष्यमा यो सम्मेलनलाई निरंतरता दिने प्रण गर्छौं I


प्रकाशित | ४ आश्विन २०७८, सोमबार १०:००