मन्त्रालय ‘फोर जी’ विस्तारमा उच्च प्राथमिकताका साथ अगाडि बढेको छ : मन्त्री बास्कोटा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालय ‘फोर जी’ विस्तारमा उच्च प्राथमिकताका साथ काम अगाडि बढेको बताउनुभएको छ । मन्त्री बास्कोटाले फोर जी पछि फाइव जी कार्यान्वयनको तयारीमा सरकार लाग्ने बताउँदै सूचना प्रविधिका क्षेत्रमा थप लगानी आकर्षण गर्न, यस क्षेत्रमा रहेका नीतिगत झन्झट अन्त्य गर्न नयाँ सूचना प्रविधि ऐन ल्याउन लागिएको बताउनुभयो ।

“समयमा काम सम्पन्न हुनुपर्छ, नेपाल डिजिटल इकोनोमियात्रामा छ, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खुद्रा व्यापार, वन, सिँचाइ, ऊर्जालगायत हरेक क्षेत्रमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ”, सूचना प्रविधिका क्षेत्रमा कार्यरत चिनियाँ कम्पनी हुवावेद्वारा आज यहाँ आयोजित नेपाल मोबाइल काङ्ग्रेस २०१९ को उद्घाटन गर्दै उहाँले भन्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल फ्रेमवर्कलाई पाँचवर्षभित्र कार्यान्वयनमा ल्याउन निर्देशन दिनुभएको उल्लेख गर्दै उहाँले सूचना प्रविधिको क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समय विश्व सूचना प्रविधिको विकास र विस्तारमा चितुवाको गतिमा अगाडि बढेको छ, हामी पनि यही गतिमा कुद्न चाहन्छौ, यसका लागि सरकार यस क्षेत्रमा कार्यरत लगानीकर्ता, कम्पनीसँग साथ र सहयोग लिन चाहन्छ ।” हालै सम्पन्न लगानी सम्मेलनले सूचना प्रविधिको विकास र विस्तारमा जोड दिएको मन्त्री बाँस्कोटाले बताउनुभयो ।


प्रकाशित | २४ चैत्र २०७५, आईतवार १९:५१