एनआरएनएमा अबको नेतृत्व, मेरो यात्रा, योगदान र उम्मेदवारीको सवाल

सोनाम लामा

अबको नेतृत्वको सवाल

गैर आवासीय नेपाली संघको १० औ विश्व सम्मेलन आगामी अक्टोवर २३–२५ मा हुँदैछ । विश्व सम्मेलन नजिकिंदै गर्दा निर्वाचनको चहलपहल पनि बढ्दै गएको देखिन्छ । यतिखेर संघको निर्वाचन नजिकिदै गर्दा नेतृत्वको सवालमा पनि बहश शूरु भएको छ । एनआरएनलाई अगाडि बढाउन राम्रो ब्यक्ती नेतृत्वमा आउनुपर्छ भन्नेमा कसैको दुईमत नहोला । राम्रो भनेको भिजन भएको, एनआरनएनलाई बुझेको, अनुभवी, संस्था र राज्यलाई योगदान गर्न सक्ने, इमानदार, छवी राम्रो भएको, संघका मुख्य उद्देश्यलाई पूरा गर्न सक्ने र गैर आवासीय नेपालीहरुको भावना बुझेको हुनुपर्छ ।

संस्था कुन ट्रयाकमा जाँदैछ भन्ने विषयमा पूर्व अध्यक्षहरु पनि चलाखो हुनुहुन्छ । पूर्व अध्यक्ष ज्यूहरुले यति धेरै दुख गरेर संस्थालाई यो अवस्थामा ल्याइपुर्याउनु भएकाले अबको नेतृत्व कस्तो हुनुहुपर्छ भन्ने विषयमा ब्यापक छलफल गर्नु आवश्यक देखिन्छ ।

साथै संस्थाको तल्लो तहदेखि काम गर्दै आएको र आफनो स्वार्थ भन्दा बढी संस्थाको लागि योगदान गर्न सक्ने वा चाहाना भएको ब्यक्ती नेतृत्वमा आउनुपर्छ । तर पदको लागि विभिन्न प्यानल बनाएर, पैसा खर्च गरेर अर्थात भोट किनेर आउँने जो कोही ब्यक्तीले चुनाव जिते पनि केहि काम गर्न सक्दैन । साथै संस्थालाई प्लेट फम बनाएर प्रधानमन्त्री, मन्त्रीदेखि राजनीतिक दलका नेतासम्म पहुँच बढाउँदै आफनो ब्यक्तीगत स्वार्थ पूर्ति गर्ने खालको नेतृत्वले पनि संस्थाको हित गर्दैन । यत्तिको लागि मात्र हो भने नेतृत्वमा हानाथाप गर्नु पनि आवश्यक देखिन्न् ।

संघको अघिल्लो नवौं विश्व सम्मेलनको क्रममा जुन अवस्था आयो र सस्थाले बेइज्जती सहनु पर्यो यो पटक त्यस्तो अवस्था आउन दिनु हुँदैन । चुनावमा उठ्ने र जित्ने मात्र नभई संस्थालाई कसरी अगाडि लग्ने भन्ने विषयमा सोच्नुपर्छ । संस्थामा काम गर्न धेरै मान्छे चाहिँंदैन । तर राम्रा राम्रा ब्यक्तिहरु भने त्यो ठाउँमा पुग्नुपर्ने हुन्छ । अबको नेतृत्वमा आउन चाहाने ब्यक्तिहरुले जित्नलाई मात्र नभई मेरो कार्यकालमा के कति काम गर्न सक्छु भन्ने मूल्यांकन गर्नुपर्छ । संस्थाको प्लेट फम प्रयोग गरेर ब्यापार ब्यवसाय गर्ने हिसावले नै चुनावमा जितेर आउने हो भने त्यो दुर्गाग्यपूर्ण हुनेछ ।

डेलिगेट्सको विषयमा मेरो धारणा

अहिले विभिन्न देशमा डेलिगेट्सको विषयमा झगडा भइरहेको छ । आफू जित्नको लागि देश देशमा झगडा गराउने र विधानविपरीत कार्य गर्नु गलत छ । संस्थामा झगडा नहोस, मुद्धा मामिला नपरोस भनेर मैले पनि नेतृत्वलाई सजग गराइरहेको छु । यसले संस्थाको भविष्य राम्रो बनाउन सक्दैन । अहिले पार्टीगत रुपमा भागबन्डा गरेर डेलिगेट्स छनौट भइरहेको कुरा पनि सुन्नमा आएको छ । यो कार्य सरासर गलत हो । केन्द्रले सदस्यता नै नक्कली भएको भए जुन ठाउँको भए पनि ढाकछोप नगरि यो क्यान्सर जस्तो रोग भएकाले यसलाई समयमै नियन्त्रण गरिनुपर्छ । केन्द्रमा आए पनि केन्द्रले राम्रोसँग भेरिफिकेशन गर्नुपर्छ । अहिले देखि नै यो क्यान्सरलाई नियन्त्रण गर्न सकिएन भने संस्था गलत बाटोमा जान सक्छ भन्नेतर्फ सबैको ध्यान जानुपर्छ ।

मेरो उम्मेदवारीको सवाल

मलाई विश्वभरिबाट सबै साथीभाईहरुले आगामी निर्वाचनमा उठ्नैपर्छ भनेर दबाब दिइरहनु भएको छ । सबैले तपाई जस्तो मान्छे संस्थामा आवश्यक छ भनेर भनीरहनु भएको छ । तर मैले यो वर्षको निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको छु । संस्थामा बसेपछि समय दिनुपर्छ, काम गर्नुपर्छ तर मैले आगामी दुई वर्ष संस्थालाई समय दिन नसक्ने भएकाले बाहिर नै बसेर सहयोग गर्ने निर्णय गरेको हुँ । मैले सस्थामा अहिलेसम्म गरेको काममा अत्यन्तै खुसी र सन्तुष्ट छु । म बाहिरै बसे पनि संस्थामा अबको नेतृत्व कस्तो हुनुपर्छ भन्ने विषयमा चासो दिइरहेको छु । म बाहिर बसेर पनि संस्थामा राम्रा र इमानदार मान्छे आएमा सहयोग गर्नेछु ।

एनआरएनमा मेरो आबद्धता र पु¥याएको योगदान

मैले संस्थामा सन् २००८ देखि आवद्ध हुँदै आईसिसी सदस्य, एक कार्यकाल अमेरिकाज् क्षेत्रको क्षेत्रीय उपसंयोजक (डिआरसी), एक कार्यकाल संयोजक (आरसी) हुँदै हाल उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेको छु । मैले उपाध्यक्षमा निर्वाचित भएसँगै गैर आवासीय नेपाली नागरिकता निरन्तरता कार्यदलको संयोजक, परोपकार तथा मानवीय सेवा कार्यदल संयोजक, लाप्राक नमूना प्रोजेक्टको संयोजकको जिम्मेवारी समालेको थिए । सो जिम्मेवारी अन्तर्गत मैले लामो समयदेखि अलपत्र लाप्राक नमूना परियोजनाको निर्माण सम्पन्न गर्दै हस्तान्तरण गर्न सफल भएको छु ।

मैले लाप्राक प्रोजेक्टदेखि एनआरएन भवन, भूकम्प, नाकाबन्दी, तराईमा आएको हावाहुरीदेखि नेपालका हरेक विपत्तिमा करोडौ सहयोग गर्दै आइरहेको छु । वर्तमान कोेभिड-१९ महामारीमा नेपालमा बसेर कोभिड प्रभावीतको लागि स्वास्थ्य सामाग्री सहयोगदेखि मैले निस्वार्थ रुपले संस्थाको लागि योगदान गरेको छु ।

१. नेपाली नागरिकताको निरन्तरता

मैले नागरिकता निरन्तरता कार्यदलको संयोजकको जिम्मेवारी समालेसँगै सो विषयमा कानून निर्माणका लागि सरकारी निकाय, प्रधानमन्त्री, मन्त्री तथा सांसदहरु, विभिन्न राजनीतिक दलका नेताहरुसँग निरन्तर बहश पैरवी गर्दै आइरहेको छु । केहि समय अघि मात्र हामीले प्रधानमन्त्री शेर बहादुर देउवा, कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित नेपालका सबै राजनीतिक दलका प्रमुखसँग छलफल गरेर नागरिकता कानून छिटो पारित गर्न दबाब दिएका छौ । यस विषयमा सबै सकारात्मक हुँदै संसद बैठक बसेसँगै चाँडै नागरिकता सम्बन्धी विधेयक अगाडि बढाउने प्रतिबद्धता जनाउनु भएको छ । अहिले पनि सबैसँग सम्पर्कमा बसेर ऐन निर्माणको लागि निरन्तर दबाब दिइरहेको छु ।

२. लाप्राक प्रोजेक्ट

२०७२ सालमा आएको महाविनाशकारी भूकम्पपछि गोरखाको लाप्राकमा एनआरएनले बस्ती निर्माण कार्य शूरु गर्यो । त्यस बेला एनआरएनएमा तत्कालीन अध्यक्ष शेष घले हुनुहुन्थ्यो । घले नेतृत्वमा रहँदा म एनआरएनए अमेरिकाज् क्षेत्रको क्षेत्रीय संयोजकको जिम्मेवारीमा थिए । त्यो बेला अमेरिकाबाट मेरै नेतृत्वमा लाप्राक प्रोजेक्टको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो सहयोग संकलन भएको थियो । लाप्राकमा आर्थिक सहयोग मात्र नभई मैले लाप्राक पुनः निर्माणको लागि कयौ रात बिताएको छु । यस मानेमा लाप्राक नमूना बस्ती निर्माण सम्पन्न गर्दै हस्तान्तरण गर्न पाएकोमा अत्यन्तै खुसी छु ।

३. एनआरएन भवन

एनआरएनए स्थापना भएको दसकौ बित्तीसक्दा पनि एनआरएनए झोलामा सिमित थियो । विश्वभरी बस्ने गैर आवासीय नेपालीको साझा संस्था भनीरहँदा आफनै भवन, कार्यालय नहुँदा एनआरएनले खासै पहिचान बनाउन सकेको थिएन । संस्था स्थापनाको लामो समयसम्म आधिकारिक भवन नहुँदा संस्थाप्रति कम चासो र विश्वसनीयता पनि कम थियो । अमेरिकाज् क्षेत्रीय संयोजक रहेको बेला एनआरएनको आफनै भवन निर्माणमा मैले ठूलो योगदान गरेको छु । भवन निर्माणको लागि समेत अमेरिकाबाट हामीले करोडौ आर्थिक सहयोग संकलन गरेर त्यो बेला रेकर्ड नै राख्न सफल भएका थियौ ।

४. मुक्तीनाथमा बुद्धको मूर्ति निमार्ण

मैले एनआरएन प्रोजेक्टको रुपमा मुस्ताङको मुक्तीनाथ मन्दिरमा आफनै ब्यक्तीगत खर्चमा परिसरभित्रको करिब ६ रोपनी क्षेत्रफलमा बुद्धको ३५ फिटको मूर्ति निर्माण गरेको छु । मुक्तिनाथ मन्दिरको नजिकै स्थापित बुद्धमूर्ति नेपालको सबैभन्दा अग्लो स्थानमा स्थापित ठूलो ढुंगाको बुद्धमूर्ति हो । १२ हजार ६ सय फिटको उचाईमा रहेको मूर्तिको तौल झण्डै ६० हजार किलोको रहेको छ । मैले करोडौ लगानीमा निर्माण गरेको ६ रोपनी क्षेत्रफलभित्र झरना, बगैचा, ११ वटा ढुंगे पानी धारा, पाँच वटा स्तुपा छ ।

मैले संघमा लामो समयदेखि हरेक क्षेत्रमा निस्वार्थ हिसावले योगदान गर्दै आएको छु र आगामी दिनमा पनि गरि नै रहनेछु । संस्थामा जाने भनेको केहि योगदान गर्न र निस्वार्थ रुपले काम गर्न हो । त्यसैले आगामी दुई वर्ष मैले समय दिन नसक्ने भएकाले संंस्थाभन्दा बाहिर रहेर पनि सक्दो सहयोग गरि नै रहनेछु । एनआरएनए एक अभियान भएकाले यो लामो समय चलिरहनेछ । त्यसकारण टुटफुट, विभाजनबाट नभई सहमती, सहकार्य र सामूहिकताको भावनाले काम गर्दै संस्थाको छवी माथि उकास्न सबै लाग्नुपर्ने देखिन्छ । अहिलसम्मको एनआरएन अभियानमा मलाई विभिन्न माध्यमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्न चाहान्छु । धन्यवाद ।


प्रकाशित | १३ भाद्र २०७८, आईतवार १७:१२