स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आयोगको आग्रह, कार्यकाल आगामी जेठ ५ मा समाप्त हुने

काठमाडौं –  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति यथाश्रीघ तोक्न सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै तत्काल निर्वाचन मिति तोक्न आग्रह गर्नु भएको हो । निर्वाचनको मिति तोक्न भइरहेको ढिलाईले आवश्यक तयारीमा थप जटिलता उत्पन्न हुने भन्दै तत्काल निर्वाचन मिति घोषणा गर्न आयोगले आग्रह गरिएको हो ।

आयोगले २०७४ वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरणमा सम्पन्न भएकोमा पहिलो चरण २०७४ वैशाख ३१ गतेलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्थाबमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल आगामी २०७९ जेठ ५ मा समाप्त हुनेु भन्दै म्याद सकिनु अगावै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने जनाएको छ ।

आयोगले जारी गरिएको बिज्ञप्तिमा भनीएको छ, ‘स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेश्रो चरणमा सम्पन्न भएकोमा पहिलो चरण २०७४ वैशाख ३१ गतेलाइ आधार मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल आगामी २०७९ जेठ ५ मा समाप्त हुने भएकोले स्थानीय तह निर्वाचन ऐन,२०७३ को दफा ४ को व्यवस्था बमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै स्थानीय तहको निर्वाचन गर्न आयोगका पदाधिकारीद्धारा सम्मानीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्युलाई पहिलो पटक मिति २०७८ कार्तिक ८ गते भेटी स्थानीय तहको आगामी निर्वाचनका सम्बन्धमा भएका संवैधानिक तथा कानुनी व्यवस्था बारेमा जानकारी गराइएको र दोश्रो पटक मिति २०७८ पौष ९ गते भेटी स्थानीय तहका निर्वाचित पदाधिकारीहरुको पदावधि सम्बन्धी व्यवस्थाको बारेमा जानकारी गराई मिति २०७९ वैशाख १४ गते बुधबारका दिन एकै चरुणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताव गरिएको र यदि कुनै कारणबाट एकै चरणमा निर्वाचन गर्न संम्भव नभएमा पहिलो चरण मिति २०७९ वैशाख १४ गते बुधबार र दोश्रो चरण २०७९ वैशाख २२ गते विहिबार गर्ने गरी दुई चरणमा निर्वाचन गर्न उपयुक्त हुने भनी प्रस्ताव गरिएको छ ।’

त्यस्तै, ‘२०७८ पौष ३० गते निर्वाचन आयोगका पदाधिकारी र १६ राजनीतिक दलका सभापति वा अध्यक्ष तथा आधिकारिक प्रतिनिधिहरुका बीच स्थानीय तहका्े आगामी निर्वाचनको सन्दर्भमा गरिएका पुर्व तयारीका कार्यहरु र स्थानीय तहको निर्वाचनको मिति तय गर्न नेपाल सरकार समक्ष परामर्श दिने सम्बन्धमा गरिएको बैठकमा राजनीतिक दलहरुले स्थानीय तहको निर्वाचन समयमा नै गर्नुपर्ने तर्फ जोड दिदैँ स्थानीय तहको निर्वाचनका सम्बन्धमा आयोग पूर्ण तयारी अबस्थामा रहनु पर्ने र सरकारसँग समयमा नै निर्वाचन गर्न सम्पर्कमा रही सरकारलाई मिति तोक्न सिफारिश गर्ने लगायतका विविध सुझावहरु प्राप्त भएका थिए । तदनुुसार स्थानीय तहको निर्वाचन व्यवथापनका लागी कानुनतःआयोगलाई सामान्यतया १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भएकाले स्थानीय तहकको निर्वाचनलाई लक्षित गरि मतदाता संकलन, मतदानस्थलहरुको पुनरावलोकन, र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक अन्य पूर्व तयारीका कार्यहरु निरन्तर गरिरहेको हुँदा आयोगले प्रस्ताव गरे अनुसार निर्वाचनको मिति तोकिएमा २०७९ बैशाख मसान्तभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको छ’,  जारी गरिएको बिज्ञप्तिमा भनीएको छ ।’

 


प्रकाशित | ११ माघ २०७८, मंगलवार १८:३९