ओमानले कोरोनाविरुद्धको खोप नलगाएकाको भिसा नवीकरण नगर्ने

ओमान । ओमानले कोरोनाविरुद्धको खोप नलगाएकाको भिसा नवीकरण नगर्ने भएको छ । ओमानमा आगामी सेप्टेम्बरदेखि भिसा नवीकरण गर्नका लागि कोरोना विरुद्धको खोपको एक डोज लगाएको हुनुपर्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

यस्तै अक्टोबरदेखि खोपको दुवै डोज लगाएको मात्र भिसा नवीकरण हुने जनाएको छ । ओमानमा कोरोना भाइरसको अनुगमन÷मूल्याङ्कन गरिरहेको सर्वोच्च कमिटीले भिसा, खोपलगायतका विषयमा पत्रकार सम्मेलन गरी नयाँ निर्णय सार्वजनिक गरेको हो ।

यस्तै, कमिटीका अनुसार २०२१ को जनवरीदेखि जारी गरिएका भिसाको म्याद पनि डिसेम्बरसम्मको लागि निःशुल्क थप्न सकिने भएको छ । नेपालमा रहेकाहरुले आरओपीको वेबसाइटबाट भिसा नवीकरण गर्न सकिने जनाइएको छ ।

ओमान बाहिर बसेको ६ महिनाभन्दा बढी भएको छ भने रोजगारदातामार्फत आरओपी कार्यालयमा सम्पर्क गर्नुपर्ने दूतावासले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रकाशित | १२ भाद्र २०७८, शनिबार ०९:५७