एनआरएनए उपाध्यक्षमा डा. हेमराज शर्माको उम्मेदवारी घोषणा

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।  महासचिव शर्माले आफूले सुरू गरेका रूपान्तरणका प्रयासलाई संस्थागत गर्न आवश्यक महशुस गर्दै उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताउनु भयो ।

डा. शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुनुुहुन्छ । १५ भन्दा बढी विद्यार्थीको विद्यावारिधि ‘सुपरभाइज’ गरिसक्नु भएको उहाँले आफ्नो नेतृत्वमा गत वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन गर्नु भएको थियो ।

डा. शर्मा संघको परिमार्जित नयाँ विधान २००७ को खाका र नियमावलीका मस्यौदाकार समेत हुनुुहुन्थ्यो। बाग्लुङको अमलाचौरमा जन्मिनु भएका शर्मा एनआरएनभित्रका सकृय प्राज्ञिक व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ । उहाँले भौतिकशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट गोल्डमेडल समेत हासिल गर्नु भएको छ ।

उहाँले सन् १९९७ मा जापानको रिक्यो विश्वविद्यालयमा मास्टर्स कोर्स गर्नु भएको थियो भने १९९८ मा इटालीबाट थप मास्टर्स डिग्री हासिल गर्नु भयो । उहाँले सन् २००२ मा फ्री युनिभर्सिटी बर्लिनबाट ‘फिजिक्स’ मै पिएचडी गर्नु भएको थियो ।

सन् २००५ मा एनआरएन जापानको महासचिवको जिम्मेवारी सम्हानु भएको शर्माले सन् २००७ मा बेलायत आएसँगै आइसीसी सदस्यमा मनोनित हुनु भएको थियो । उहाँ एनआरएनए विधान समिति संयोजक समेत हुनुहुन्थ्यो ।

संघका संस्थापक नेताहरु तथा सबै पूर्वअध्यक्षहरुसँग निकट रहेर काम गरेको अनुभव बटुल्नु भएको शर्माले पूर्वअध्यक्ष जीवा लामिछानेको कार्यकालमा प्रवक्ताको जिम्मेवारी समाल्नु भएको थियो । गैर आवासीय नेपाली संघको विश्व सम्मेलन आगामी अक्टोवर २३-२५ तारिखमा हुँदैछ ।


प्रकाशित | १० भाद्र २०७८, बिहीबार १२:३७