सानिमा बैंकको नाफा २८ प्रतिशतले बढ्यो

काठमाडौं । सानिमा बैंकको नाफा २८ प्रतिशतले बढेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब २७ करोड ६४ लाख रुपैयाँ नाफा कमाउँदा सो वृद्धि हासिल गरेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ७७ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

उक्त नाफामध्ये बैंकले १ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ शेयरधनीहरुलाई वितरण गर्नसक्ने अवस्था रहेको जनाएको छ । यो वितरणयोग्य नाफा बैंकको हाल कायम रहेको ९ अर्ब ६८ करोड रुपैयाँको १७ प्रतिशत भन्दा बढी हो ।

सानिमा बैंकको नाफा बढ्नुमा बैंकले ब्याज आम्दानी, शुल्क तथा कमिसन आम्दानीमा भएको वृद्धि तथा इम्पेरिमेन्ट चार्जमा छुट्याउने रकम कम हुनु प्रमुख कारण रहेको देखिएको छ । बैैंकले व्यापारमूलक तथा अन्य सञ्चालन आम्दानी भने यो वर्ष सामान्य घटेको छ ।

बैंकले इम्पेरिमेन्ट चार्जमा बैंकले छुट्याउनुपर्ने रकम यो वर्ष घटेको छ । अघिल्लो वर्ष झन्डै ८० करोड इम्पेरिमेन्ट चार्जमा छुट्याएको बैंकको यस्तो प्रोभिजन २९ करोडमा झरेको छ ।

बैंकले यो वर्ष निष्क्रिय कर्जा अनुपातमा उच्च सुधार गरेर ०.१६ प्रतिशतमा झारेको छ । यो वाणिज्य बैंकमध्येकै सबैभन्दा कम निष्क्रिय कर्जा भएको बैंक हो ।

बैंकको कस्ट अफ फण्ड र ४.७५ र आधारदर ६.३४ प्रतिशत रहेको छ । ब्याजको स्प्रेडदर ३.७३ प्रतिशत रहेको बैंकले जनाएको छ ।


प्रकाशित | ३० श्रावण २०७८, शनिबार १०:३६