नेपाली सर्टिफिकेट अफ्रिकामा पनि बिक्री, नेपाली विश्वविद्यालयको विदेशमा समेत बदनामी

काठमाडौं : एक अफ्रिकी नागरिकले पूर्वाञ्चल विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्र लिएको भेटिएको छ । दक्षिण अफ्रिकाका तिलाहुन गन मुलुसेवाले बिई–सिई ९ब्याचलर इन इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ०को नक्कली सर्टिफिकेट लिएको फेला परेको हो ।

मुलुसेवाको सर्टिफिकेटमा उनले काठमाडौंको सीतापाइलास्थित एक्मी इन्जिनियरिङ कलेजमा अध्ययन गरेको उल्लेख छ । एक्मी पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेज हो । सर्टिफिकेटमा विश्वविद्यालयको रजिस्टर नम्बर ०१८–३–२–०११०१–२००४ उल्लेख छ भने विश्वविद्यालयका चान्सलरको हस्ताक्षर छ । तर, नाम भने उल्लेख छैन । उनी सन् २००४ मा कलेज भर्ना भएको सर्टिफिकेटमा उल्लेख छ । बिईको आठ सेमेस्टर अध्ययन गरेका उनी ३ अक्टोबर ००८ मा बिई उत्तीर्ण भएको सर्टिफिकेटमा देखिन्छ । यो समाचार आजको नयाँ पत्रीका दैनीकमा टेकराज थामीले लेख्नुभएको छ ।

प्रहरीको अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी केदार ढकालले शैक्षिक प्रमाणपत्रको सम्बन्धमा अनुसन्धान भइरहेकाले केही भन्न नमिल्ने बताए । उनले भने, ‘प्रमाणपत्रका सम्बन्धमा अनुसन्धान भइरहेको छ । अनुसन्धान जटिल भएकाले यस सम्बन्धमा थप नबोलौँ ।’ एक्मी इन्जिनियरिङ कलेजका प्रधानाध्यापक प्रदीप पौडेलले भने तिलाहुन गन मुलुसेवा नाम गरेको विद्यार्थीले आफ्नो कलेजमा अध्ययन नगरेको बताए । उनले भने, ‘अध्ययन गरेको भन्दै एक विद्यार्थीले लिएको शैक्षिक प्रमाणपत्रमा एक्मी इन्जिनियरिङ कलेजको नाम उल्लेख भएको विषयबारे सोधपुछ भएको हो । उक्त नाम गरेको विद्यार्थी कलेजमा कहिल्यै अध्ययन नगरेको भन्दै हामीले पत्र लेखेका छौँ । पछि विश्वविद्यालयकै रजिस्ट्रारको इमेल नक्कली बनाएर संवाद भएकोसम्म थाहा पाएँ । यसबाहेक अरू थाहा भएन ।’

विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा।डा। सूर्यप्रसाद संग्रौलाले विश्वविद्यालयको नामबाट जारी शैक्षिक प्रमाणपत्रमा उल्लेखित विद्यार्थीको रेकर्ड विश्वविद्यालयको नभएको बताए । उनले भने, ‘तिलाहुन गन मुलुसेवाले पियूबाट बिईको शैक्षिक प्रमाणपत्र लिए–नलिएको सम्बन्धमा भेरिफाई गर्न मकहाँ पत्र आएको हो । सोही पत्रअनुसार हामीले प्रमाणपत्रमा उल्लेखित विद्यार्थीको रेकर्ड अध्ययन गर्‍यौँ, तर कतै फेला परेन । त्यसपछि सर्टिफिकेट नक्कली रहेको प्रमाणित भयो । यसमा विश्वविद्यालयकै रजिस्ट्रार प्रमिला थापाको इमेल प्रयोग भएको पाइयो ।’

अनुसन्धानमा संलग्न महाशाखाका एक अनुसन्धान अधिकृतले भने, ‘सुरुमा एउटा मात्रै केस थियो । त्यसैमा केन्द्रित भएर अनुसन्धान गर्दै थियौँ । अहिले अन्य पनि रहस्य खुले । केस निकै जटिल देखिन्छ । यस सम्बन्धमा विश्वविद्यालयलाई समेत पत्राचार गरेका छौँ । जवाफ आएको छैन ।’


प्रकाशित | २७ असार २०७६, शुक्रबार ०९:१४