अस्ट्रेलियाबाट मान्यता प्राप्त प्याशिफिक हस्पिटालिटीको दीक्षान्त समारोहमा ७५ विद्यार्थी दिक्षित

काठमाडौं: नेपालमा विदेशी प्रविधि भित्याएर प्राविधिक शिक्षा दिई आत्मनिर्भरता बढाउन सफल मैतीदेवीमा अवस्थित प्याशिफिक हस्पिटालिटी एण्ड कुलीनरी एकेडेमीले तालिम प्राप्त ७५ जना विद्यार्थीलाई सर्टीफिकेट हस्तान्तरण गरेको छ ।

एकेडेमीले एक ग्राजुएसन सेरोमनी कार्यक्रम आयोजना गर्दै तालिम प्राप्त विद्यार्थीलाई सर्टीफिकेट हस्तान्तरण गरेको हो । कार्यक्रममा अस्ट्रेलियन इन्टरनेसनल कुलीनरी सर्भिसका सिईयो अबू सदेकले तालिम प्राप्त विद्यार्थीलाई सर्टीफिकेट हस्तान्तरण गर्नुभयो । सो अवसरमा सिईयो सदेकले विद्यार्थीलाई प्रोत्साहन गर्नुहुँदै भविष्यको सुन्दर बाटो निर्माणमा अगाडि बढेकोमा शुभकामना दिनुभयो । साथै सिपलाई ब्यवहारमा उतार्दै आत्मनिर्भर बन्न समेत उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपालको पहिलो सेफ गोविन्द नर सिँह केसी र सेफ एसोसियसन अफ नेपालका प्रतिनिधि उद्दव थापाले एकेडेमीले नेपालमा पहिलो पटक विदेशी प्रविधि भित्याएर होटल तालिम प्रदान गर्दै प्राविधिक शिक्षामा नमूना कार्य गरिरहेको बताउँदै यसलाई निरन्तरता दिन जोड दिनुभयो ।

कार्यक्रममा टेक्नीकल एड्भाईजर डा. अग्नी काफलेले एकेडेमीमा तालिम प्राप्त गरेसँगै स्वदेशमै स्वरोजगार बन्न सक्ने भन्दै सिप र दक्षता भएमा विश्वको जुनसुकै ठाउँमा गएर पनि बेरोजगार बस्नु नपर्ने धारणा राख्नुभयो ।

सोे अवसरमा विभिन्न विधामा विद्यार्थीलाई सम्मानका साथै नगद पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा सर्वोत्कृष्ठ तीन जना विद्यार्थीलाई १ /१ लाखको दरले छात्रबृत्ति प्रदान गरिएको एकेडेमीका म्यानेजिङ डाइरेक्टर सुशील थापाले जानकारी दिनुभयो ।

एकेडेमी अस्ट्रेलियाबाट मान्यता प्राप्त तथा नेपालको प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद (सिटिइभिटी ) मा समेत दर्ता भई सञ्चालन भइरहेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अस्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसीद्धारा सञ्चालीत एकेडेमीले अहिलेसम्म सयौ विद्यार्थीलाई तालिम प्रदान गरिसकेको छ । एकेडेमीमा तालिम प्राप्त विद्यार्थीहरुलाई स्वदेश तथा विदेशका फाईभ स्टार होटलसम्म काम गर्न सक्ने क्षमता अभिबृद्धि गराउँदै आएको छ ।

सो एकेडेमीमा तालिम प्राप्त विद्यार्थी मध्ये धेरैजसो आफै होटल ब्यवसायी समेत बनेका छन । एकेडेमीका म्यानेजिङ डाइरेक्टर सुशील थापाका अनुसार पछिल्लो समय एकेडेमीमा तालिम लिन आउने विद्यार्थीको चाप असाध्यै बढेको छ ।


प्रकाशित | ३ पुष २०७६, बिहीबार १७:०२