ललितपुर – ललितपुरको महाँकाल गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माणका लागि बुधवार शिलन्यास गरिएको छ । महाँकाल गाउँपालिका वडा नं ३ स्थित गोटीखेलमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि शिलन्यास गरिएको हो ।
कुल ६ करोड ८५ लाख रुपैयाँ लागतमा गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण हुन लागेको हो । यस आर्थिक वर्ष भित्रमा भवन निर्माण गरिसक्ने गरी काम गर्ने सम्झौता भएको महाँकाल गाउँपालिकाले जनाएको छ ।
भवनको शिलन्यास गर्दै बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले लेले चन्दापुर मध्यमार्गी मोटारबाटो र टुङ्गुन करिडोर स्तरउन्नतीका लागि बागमती प्रदेशबाट बजेट विनियोजन भएको र छिटै काम अगाडि बढ्ने बताउनुभयो ।
उहाँले यस क्षेत्र प्राकृतिक र धार्मिक सौन्दर्यताले महत्वपूर्ण भएको भन्दै व्यवस्थित सडक सञ्जाल निर्माण भइसकेपछि यस क्षेत्रमा पर्यटक प्रबद्र्धन गर्न थप सहयोग पुग्ने बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य नवराज शिलवालले गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेपछि गाउँपालिकाले प्रदान गर्ने सेवामा थप सहजता हुने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सांसद चेतनाथ सञ्जेल र बालकुमारी पुन, गाउँपालिका अध्यक्ष रामचन्द्र दाहाल, प्रमुख प्रशासकिय अधिकृत सूर्यप्रसाद कोइराला, सबै वडाध्यक्ष तथा जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणको सहभागिता रहेको थियो ।
प्रकाशित | २७ श्रावण २०७८, बुधबार २१:१८