रुस-युक्रेन द्धन्द्धका विषयमा अमेरिकी र चीनीयाँ विदेशी मन्त्री बीच फोन वार्ता

बेइजिङ – चीनले रुस युक्रेन द्धन्द्ध समाधान गर्न सहयोग गर्ने बताएको छ । चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले युक्रेन संकट चर्काउने कुनै पनि चालको विरोध गर्ने बताए ।

वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको फोन वार्ताका क्रममा युक्रेनको संकट वार्ताबाट मात्रै समाधान गर्न सकिने बताए । चीनले तनाव कम गर्ने सबै प्रयासलाई समर्थन गर्ने र कूटनीतिक समाधानका लागि जोड दिने बताए ।

पछिल्लो दुई हप्ताभित्र दुई अधिकारीबीच भएको यो दोस्रो फोन वार्ता हो।

ब्लिन्केनले वाङलाई रुस र युक्रेनबीचको द्वन्द्वमा अमेरिकी अडानबारे जानकारी गराएका थिए। वाङले चीनले युक्रेन संकटलाई अहिलेको अवस्थामा बढेको हेर्न नचाहेको बताए ।

‘युक्रेन मुद्दा जटिल छ, जसमा अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तहरू समावेश छन् र सबै पक्षहरूको हितसँग घनिष्ठ रूपमा जोडिएको छ’, वाङले भने । संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्थायी सदस्यका रूपमा चीनले आफ्नो अडान र नीतिलाई आधार बनाएर निर्णय गर्ने पनि उल्लेख गरे।

युक्रेन संकटको समाधान संयुक्त राष्ट्रको बडापत्रको उद्देश्य र सिद्धान्त अनुसार हुनुपर्ने चीनको विश्वास रहेको वाङले बताए । सबै देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान तथा संरक्षण गरिनुपर्ने र वार्ता तथा शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्नुपर्ने कुरा औंल्याउनुभयो। ।

युक्रेन संकट अन्ततः वार्ताको माध्यमबाट समाधान गर्न सकिने र चीनले परिस्थितिलाई सहज बनाउन र राजनीतिक समाधानमा पुग्न मद्दत गर्ने सबै प्रयासलाई समर्थन गर्ने वाङले बताए।

‘चीनले शान्तिको लागि बोल्ने र प्रयास जारी राख्ने छ। हामी रुस र युक्रेनबीच प्रत्यक्ष वार्तालाई प्रोत्साहन गर्छौं’, वाङले भने।

हामी अमेरिका, नाटो र ईयूलाई रुससँग निष्पक्ष वार्ता गर्न र वर्षौंदेखि थुप्रिएका विरोधाभास र समस्याहरूको सामना गर्न र रुसको सुरक्षा वातावरणमा परेको नकारात्मक असरलाई जोड दिनुपर्ने बताए ।

चीन अमेरिका सम्बन्धको सन्दर्भमा वाङले द्विपक्षीय सम्बन्धको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा दुई नेताहरू बीचको भिडियो कन्फरेन्सबाट भएको सहमतिलाई कार्यान्वयन गर्न जोड दिए । उनले अमेरिकी पक्षका केही वक्तब्य लक्ष्यविपरीत भएकोमा चीन चिन्तित भएको बताए।

‘ताइवान चीनको अपरिहार्य हिस्सा हो र ताइवान प्रश्न चीनको घरेलु मामिलाको हिस्सा हो, अमेरिकाले ताइवान पृथकतावादलाई समर्थन गर्न र चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्नुपर्छ’, उनले भने ।


प्रकाशित | २२ फाल्गुन २०७८, आईतवार ११:०५