लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिनु भएको छ । पोखरेलले प्रदेश प्रमुख अमिक शेरचन मार्फत राजीनामा दिनु भएको हो ।

मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका थियो । अहिलेसम्मको गणितमा विपक्षी गठबन्धनसँग बहुमत देखिएपछि पोखरेलले राजीनामा दिनु भएको हो । विपक्षी गठवन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।

प्रदेशसभामा हाल ८० जना सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । तर सत्तारुढ दल एमालेसँग अहिले ३८ सांसद मात्र छ । विपक्षी गठवन्धनसँग कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् ।

विपक्षी गठवन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको छ । यसअघि केसी आन्तरिक मामिला तथा कानून मन्त्री हुनुहुन्थ्यो ।


प्रकाशित | २७ श्रावण २०७८, बुधबार १३:३१