योग्यता र क्षमताको आधारमा तत्काल स्वास्थ्य मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवालाई विज्ञहरुको सुझाव

काठमाडौं । नेपालका जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव पेश गरेका छन्। नेपालमा कोभिड-१९ महामारीको व्यवस्थापन र तेस्रो लहरको तयारीका लागि भन्दै जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्री देउवालाई १८ बुँदे सुझाव पेश गरेका हुन्।

पेश गरिएको सुझावमा उनीहरुले योग्यता र क्षमताको आधारमा तत्काल स्वास्थ्य मन्त्री नियुक्त गर्न माग गरेका छन् । उच्च स्तरीय कोभिड- १९ व्यवस्थापन समितिमा प्रस्तुत हुनुपूर्व सबै महत्वपूर्ण विषयमा राय लिन योग्य चिकित्सक र जनस्वास्थ्य विशेषज्ञहरु सम्मिलित स्वतन्त्र सल्लाहकारहरुको समूह बनाउनुपर्ने उनीहरुले सुझाव दिएका हुन ।

घर र संस्थागत आइसोलेसन सेवा र समुदाय समर्थित ‘आफ्नो स्वास्थ्यको हेरचाह आफैँ गर्ने’क्षमता अभिवृद्धि गर्नु आवश्यक रहेको सुझाव पत्रमा उल्लेख छ। स्वास्थ्यकर्मीहरुको नैतिक र उत्प्रेरणा उच्च राख्नुपर्ने, १८ वर्षभन्दा माथिकालाई यथाशिघ्र खोप लगाउनुपर्ने र खोप कार्यक्रममा निजी क्षेत्रलाई सरकारी सहयोगमा संलग्न गराउनुका साथै वृद्धरअसाह्य मैत्री तथा कम भीडभाड हुने गरी खुल्ला ठाउँमा व्यवस्थापन गर्न उनीहरुको सुझाव छ।

आवश्यक औषधि तथा अक्सिजन आपूर्ति। प्रभावकारी परीक्षण सुविधा, शंकास्पद व्यक्तिका लागि क्वारेन्टाइन सेन्टर सञ्चालन गर्न जरुरी रहेको र संक्रमण देखिएकाहरुलाई होम आइसोलेसनमा वा संस्थागत आइसोलेसनमा बस्दा टेलिमेडिसिन तथा मोबाइल स्वास्थ्य एकाई सेवा सञ्चालन गर्न उनीहरुको सुझाव छ। अस्पतालको बेड, एचडीयू, आइसीयू र भेन्टिलेटरको संख्या बढाउन पनि प्रधानमन्त्री देउवालाई उनीहरुको सुझाव छ।

उक्त सुझाव पत्रमा डा महेश मास्के, कुलचन्द्र गौतम, डा रीता थापा, डा बद्रीराज पाण्डे, डा अरुणा उप्रेती डा शिवकुमार राई, डा छत्र अमात्य, डा शरद वन्त, डा अभिनव वैद्य, डा समीर दीक्षित, डा राजेन्द्र बीसी, डा तिर्थ राना, डा लोचना श्रेष्ठ, डा विन्ज्वला श्रेष्ठ, डा रजनी शाह, नारायण सुवेदीले हस्ताक्षर गर्नु भएको छ ।


प्रकाशित | ६ श्रावण २०७८, बुधबार १६:३६