भेरोसेलको पहिलो मात्रा खोप आजबाट लगाइँदै

काठमाडौँ । कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा खोप आजबाट लगाउन सुरु गरिने भएको छ । पहिलो चरणमा ५५ वर्षमाथिका सबै व्यक्तिलाई भेरोसेल खोप दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

भेरोसेल खोप बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा लगाइने छ । पहिलो चरणमा विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकलाई पनि यसैपटक भेरोसेल खोप दिने मन्त्रालयले जनाएको छ ।

अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको जानसेन खोप अर्को हप्ताबाट मात्र सुरु गरिने जनाइएको छ । जोन्सन एन्ड जोन्सनको खोप पूर्ण र अति अशक्त अपाङ्गता भएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीलाई लगाइने छ । जोन्सन एन्ड जोन्सनको खोप एक मात्रा लगाए पुुग्छ ।


प्रकाशित | २९ असार २०७८, मंगलवार ०९:३९