गत वर्ष प्राकृतिक प्रकोपमा परी ४५४ को मृत्यु, साढे चार अर्बको क्षति

काठमाडौँ : गत वर्ष मुलुकका विभिन्न स्थानमा भएका प्राकृतिक प्रकोपमा परी ४५४ नेपालीले ज्यान गुमाए भने साढे चार अर्बो क्षति पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रकोपमा परी चार हजार १८८ घाइते भएका छन् ।

प्रकोपमा परिर ११ हजार ५३३ परिवार प्रकोपबाट प्रत्यक्ष प्रभावित भएका छन् । चार हजार २८२ वटा प्रकोपको घटनाबाट मुलुकलाई रु चार अर्ब ४० करोड ८९ लाख क्षति पुगेको अनुमान गरिएको छ । प्रकोपबाट ६८९ स्थानीय तह प्रभावित भए भने तीन हजार ४३६ घरमा क्षति र तीन हजार ६५४ घर ध्वस्त भएका छन् ।

गत वर्ष सबैभन्दा बढी आगलागीबाट ८९ जनाले ज्यान गुमाए । त्यस्तै बाढी पहिरोमा परी ८८, चट्याङ लागेर ६८, हावाहुरीबाट ४५, जङ्गली जनावरको आक्रमणमा परी २७ र अन्य कारणबाट ३१ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी मानवीय क्षति व्यहोर्ने जिल्लाका रुपमा बारा रह्यो । बारामा गत वर्ष २९ जनाले ज्यान गुमाए भने सोलुखुम्बुमा २१, दाङमा २०, म्याग्दीमा १४, जाजरकोटमा १२ र बझाङ, बागलुङ, पर्सा, रसुवा तथा चितवनमा भएका घटनामा परी १३÷१३ जनाले ज्यान गुमाए ।

केन्द्रले सार्वजनिक गरेका तथ्याङ्कमा चैत महीनामा सबैभन्दा बढी प्रकोपका घटना भएका छन् । चैतमा ४८६, वैशाखमा ४४९, पुसमा ४३८, साउनमा ३७२, भदौमा ३६९, माघमा ३६४, कात्तिकमा ३६१, फागुनमा ३५१, मङ्सिरमा ३१७, असारमा २९९, जेठमा २८९ र असोजमा १८७ प्रकोपका घटना भए ।

मानवीय क्षतिका हिसाबले साउन चैत महीना सबैभन्दा बढी क्षति हुने महीनाका रुपमा रह्यो । चैतमा विभिन्न घटनामा परी ६६ जनाले ज्यान गुमाए । गत चैतमा बारा र पर्सामा मात्रै हावाहुरीबाट २८ जनाले ज्यान गुमाएका थिए । साउनमा ६२, भदौमा ५१, जेठमा ४६, वैशाखमा ४५, असारमा ४३, माघमा ३०, असोज र पुसमा २८÷२८, कात्तिकमा २२, मङ्सिरमा १८ र फागुनमा १५ जनाले ज्यान गुमाएको केन्द्रले जनाएको छ ।


प्रकाशित | ७ बैशाख २०७६, शनिबार १५:३०