गैर आवासीय नेपाली पत्रकार महासंघ गठन

लन्डन । गैर आवासीय नेपाली पत्रकार महासंघ गठन भएको छ । प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारहरु तथा संघसंस्थालाई समेटेर सहकार्य गर्दै व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकासमा सघाउने उद्देश्यले गैरआवासीय नेपाली पत्रकार महासंघ गठन गरिएको हो ।

भर्चुएल माध्यमबाट बुधबार बसेको पत्रकारहरुको उक्त भेलाले महासंघ गठन गर्ने निर्णय गरेको छ । महासंघले ८२ मुलुकहरुमा फैलिएको प्रवासी नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) संग सहकार्य गर्ने तर नेपाल सरकारले तोकेको ’गैरआवासीय नेपाली’ को परिभाषा महासंघमा लागू नहुने जनएको छ । महासंघले नेपाल बाहिर भारत लगायतका मुलुकहरुमा क्रियाशील नेपाली तथा नेपाली मूलका पत्रकारहरुलाई पनि समेट्ने गरी आउंदो ९० दिन भित्र संघको विधान बनाइने र त्यसको १८० दिन भित्र नयां कार्य समिति गठन गरिसक्ने जनाएको छ ।

महासंघका राष्ट्रिय शाखाहरु भने तत्काल गठन गरिने छन्। महासंघको अध्यक्षमा बीबीसीका पूर्व पत्रकार भगीरथ योगी (यूके) रहनु भएको छ भने वरिष्ठ उपाध्यक्षमा तोया दाहाल (अमेरिका) रहनु भएको छ । यस्तै उपाध्यक्षमा श्याम लुइँटेल (यूके), महासचिवमा कृष्ण केसी (अमेरिका) रहेका छन्। यसै गरी सचिवहरूमा अनिल अधिकारी (अमेरिका), छत्र शंकर (अष्ट्रेलिया), खगराज गौतम (जापान), अनुजा बुढाथोकी (साउदी अरेबिया) र सह कोषाध्यक्ष महेश खाती (डेनमार्क) रहेका छन्। त्यस्तै सल्लाहकारहरुमा डा. भरत राज पौडेल (अस्ट्रेलिया) तथा डा. जगन अधिकारी (यूके) रहेका छन्। जुन देशमा महासंघ दर्ता हुन्छ, त्यही देशबाट कोषाध्यक्ष मनोनयन गरिने जनाइएको छ ।
गैरआवासीय नेपाली पत्रकार महासंघ नेपाल बाहिर बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलिया या युरोपका कुनै एक देशमा दर्ता गरिने जनाइएको छ ।

महासंघले विदेशमा रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै व्यावसायीक नेतृत्व प्रदान गर्ने, सञ्चार क्षेत्रको विकासका लागि नेपालमा रहेका पत्रकारितासंग सम्बन्धित संघसंस्थासंग सहकार्य गर्ने, प्रवासमा नेपाली भाषा, कला, संस्कृति र नेपाली पहिचानको प्रवर्द्धनका लागि काम गर्ने जनाएको छ। त्यस्तै लोकतन्त्र, मानव अधिकार तथा प्रेस स्वतन्त्रताको प्रतिरक्षाका साथै पत्रकारिता तथा सञ्चार क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संगठन तथा संघ संस्थासँग सहकार्य गर्दै अघि बढ्ने पनि महासंघले जनाएको छ ।


प्रकाशित | २५ असार २०७८, शुक्रबार १९:१८