कोरोना भाइरसका कारण नेपालमा पहिलो मृत्यु ,सुत्केरीको मृत्यु कोरोनाको कारण भएको पुष्टि

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणको एक कारण पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुत्केरीको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण भएको पुष्टि गरेको हो ।

मन्त्रालयले एक बिज्ञप्ति जारी गदै भनेको छ, ‘उनी नेपालमा कोरोना भाइरसको कारण मृत्यु हुने पहिलो व्यक्ती हुन्। हालसम्म नेपालमा २८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये ३६ जना उपचारपछि निको भइसकेको छ भने मृत्यु भने पहिलो हो। नेपालमा कोभिड१९बाट मृत्यु भएको यो पहिलो घटना भएको पुष्टि भएको छ ।’

सिन्धुपाल्चोक बाह्रिबिसेको २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको हो। उनको आजै पशुपतिस्थित विधुतिय शवदाह गृहमा अन्तेष्टि गरिने भएको छ। उनको ‘कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि -२०७६’ अनुसार नै अन्तेष्टि हुने मन्त्रालयले जनाएको छ।

८ दिनअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी डिस्चार्ज भएपछि सिन्धुपाल्चोक बाह्रबिसे गएकी थिइन्। तर श्वासप्रस्वासमा समस्या भएपछि उनलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो। अस्पतालमा उनलाई आवश्यक उपचार प्रक्रिया अगाडि बढाइएको थियो। भेन्टिलेटरमा राख्ने तयारी भइरहेको समयमा उनको मृत्यु भएको बताइएको छ।

अस्पतालमा उनको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि अस्पतालले उनको स्वाबको थप परीक्षणका लागि टेकु पठाइएको थियो। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि उनमा कोरोना पोजेटिभ देखिएको छ।

कोरोना पोजेटिभ सुत्केरीको मृत्यु भएपछि धुलिखेल अस्पतालका डाक्टर, नर्स तथा कर्मचारीको नमूना संकलन गरी परीक्षणको काम भइरहेको छ।


प्रकाशित | ३ जेष्ठ २०७७, शनिबार २१:२२