कोभिड असर: जुनमा नेपाल भित्रिनेको सङ्ख्या एक हजार १४३ मात्र

काठमाडौँ। कोभिड–१९ सङ्क्रमणका कारण जारी निषेधाज्ञाले उडान प्रतिबन्ध हुँदा नेपाल भित्रने विदेशीको सङ्ख्या न्यून देखिएको छ । अध्यागमन विभागका अनुसार जुनमा नेपाल भित्रिनेको सङ्ख्या एक हजार १४३ मात्र छ ।

विभागका अनुसार अघिल्लो मेमा नेपाल भित्रिने सङ्ख्या एक हजार ४६८ थियो । त्यसअघि प्रतिबन्धको अवस्था नहुँदा मार्चमा भने करिब १५ हजार विदेशी नेपाल भित्रिएका थिए ।

अध्यागमनले सार्वजनिक गरेको यो तथ्याङ्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र नेपाल प्रवेश गर्ने विदेशीको सङ्ख्या हो । कोभिडको दोस्रो लहरपछि सरकारले स्थल मार्गबाट विदेशीलाई नेपाल प्रवेश निषेध गर्दै आएको छ ।

जुनमा नेपाल भित्रिनेमा सबैभन्दा धेरै भारतीय छन् । विभागका अनुसार उक्त महिना ३५९ जना भारतीय नेपाल प्रवेश गरेका छन् । त्यसपछि संयुक्त राज्य अमेरिकाबाट २६६ जना प्रवेश गरेको तथ्याङ्क छ ।

बेलायतबाट ५७ जना, चीनबाट ३८ जना नेपाल आएको विभागले जनाएको छ । त्यसपछि दक्षिण कोरियाबाट ३२ जना नेपाल आएका छन् । नेपाल भित्रिनेमा विशेष गरी विदेशी कूटनीतिक नियोगका कर्मचारी, प्रतिनिधि तथा विभिन्न अन्तर्राष्ट्रिय सङ्घसङ्गठनका कर्मचारी तथा प्रतिनिधि रहेको विभागले जनाएको छ।


प्रकाशित | १९ असार २०७८, शनिबार १०:५६