सूर्यविनायक नगर सभाको १६ औं अधिवेशन सम्पन्न, २ अर्ब २४ करोड बजेट विनियोजन, नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित

भक्तपुर: सूर्यविनायक नगरसभाको १६ औं अधिवेशन सम्पन्न भएको छ । शुक्रबारबाट शूरु अधिवेशन नीति तथा कार्यक्रम, बजेट, लोगो, नगर गान र विभिन्न विधेयकहरु सर्वसम्मत पारित गर्दै सम्पन्न भएको हो । शुक्रबारको पहिलो बैठकमा नगर प्रमुख बासुदेव थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सोमबार नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भयो ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१ ८२ का लागि २ अर्ब २४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । नगरपालिकाले कुल बजेटको ४५ दशमलव ३४ प्रतिशत रकम अर्थात् १ अर्ब १ करोड ५६ लाख ५३ हजार ५ सय रुपैयाँ चालू खर्चका लागि विनियोजन गरेको छ । त्यस्तै, १ अर्ब २२ करोड ४३ लाख ४६ हजार ५ सय रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ । उक्त रकम नगरपालिकाको कुल बजेटको ५४ दशमलव ६६ प्रतिशत हो ।

आगामी आर्थिक वर्षमा नगरपालिकाले संघीय सरकारको विभिन्न शिर्षकबाट ७२ करोड ३१ लाख ९९ हजार ५ सय रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । त्यस्तै प्रदेशबाट विभिन्न शिर्षकमा ४८ करोड ७ लाख ३९ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

नगरपालिकाको आन्तरिक आय १ अर्ब ३ करोड ६० लाख ७ हजार ५ सय रुपैयाँ रहने अनुमान सहित २ अर्ब २४ करोडको अनुमान गरिएको हो ।

आर्थिक विकास तर्फ ११ करोड ८९ लाख ४३ हजार रुपैयाँ, सामाजिक विकास तर्फ ८३ करोड ८४ लाख ८४ हजार ४६ लाख रुपैयाँ र पूर्वाधार विकासतर्फ ८७ करोड १६ लाख रु २२ हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ११ करोड ५ लाख रुपैयाँ र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ३० करोड ४ लाख रुपैयाँ सहित कुल २ अर्ब २४ करोड खर्च हुनेअनुमान गरिएको छ ।

बजेटमा शिक्षा क्षेत्रतर्फ २८ करोड ३७ लाख ३७ हजार, नगर अस्पताल तथा स्वास्थ्य क्षेत्रमा २८ करोड १२ लाख २ हजार, खानेपानी तथा सरसफाई तर्फ ११ करोड १९ लाख १० हजार, लैगिक समानता र सामाजिक समावेशिकरण तर्फ ४ करोड ३ लाख ९७ हजार, कृषि तथा पशुपंक्षी विकास तर्फ ३ करोड ९४ लाख ५३ हजार, उद्यम ब्यवसाय तथा रोजगारी तर्फ २ करोड २१ लाख ४० हजार, सहकारीतर्फ ३७ लाख, बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, भौतीक पूर्वाधारणको मर्मत संभार गर्नका लागि ४ करोड, वन वातावरण तथा विपद् ब्यवस्थापनका लागि २ करोड ५० लाख, इन्जिनियरिङ प्रयोगशाला निर्माण तथा सञ्चालका लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।

 

 


प्रकाशित | ११ असार २०८१, सोमबार २०:०९