दुई महिनादेखि ठप्प आन्तरिक उडान पुनः सञ्चालन, खराब मौसमका कारण उडान भने प्रभावित

काठमाडौँ । कोरोनाको दोस्रो लहर फैलिएसंगै बन्द गरिएको आन्तरिक नियमित उडान पुनः सुचारु भएको छ । बिहीबारबाट सञ्चालन भएको आन्तरिक नियमित उडान झण्डै दुई महिना बन्द भएको थियो । उडान सुरु भएपनि मौसम प्रतिकूलताका कारण भने प्रभावित भएको छ ।

भिजिबिलिटी प्रष्ट नहुँदा उडान निर्धारित समयमा हुन नसकेको वायुसेवा कम्पनीहरुले बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसम प्रतिकुलताका कारण यतिखेर विभिन्न आन्तरिक गन्तव्यको उडान १५ मिनेटदेखि आधा घण्टाको फरकमा भइरहेको छ ।

दैनिक ६७ वटा उडान तालिका स्वीकृत

नागरिक उड्डयन प्राधिकरणका अनुसार जुलाई महिनाभर (असार १७ देखि साउन १६ सम्म) का लागि दैनिक ६७ वटा उडान तालिका स्वीकृत गरिएको छ । उडान बिहान साढे ६ बजेदेखि साँझ ६ बजेसम्म हुनेछन्।

प्राधिकरण उडान अनुमति शाखाका अनुसार काठमाडौंबाट बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३ वटा नियमित उडान गर्न अनुमति दिइएको हो।

पहिलो चरणमा यी चारवटा वायुसेवाले काठमाडौंबाट धनगढी, नेपालगन्ज, सुर्खेत, भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, तुम्लिङटार र भद्रपुर उडान गर्नेछन्।

प्राधिकरणद्वारा स्वीकृत तालिकाअनुसार काठमाडौंबाट दैनिक विराटनगर १०, भैरहवा ९, नेपालगन्ज र भद्रपुर ७÷७, जनकपुर र सिमरा ६÷६, पोखरा ५ र धनगढी ४ वटा उडान हुनेछन्। त्यसैगरी काठमाडौंबाट लुक्ला, फाप्लु, ताप्लेजुङ, भोजपुरलगायत दुर्गम क्षेत्रमा दैनिक ८ वटा उडान हुने प्राधिकरणले जनाएको छ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने

उडान गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्नेछ। जसअनुसार, यात्रुको भिड नहोस् भनेर काठमाडौं तथा बाहिरका विमानस्थलमा एक पटकमा एउटा विमानलाई मात्र प्रवेश दिइनेछ।

यसैगरी विमानस्थलको ¥यामबसमा यात्रुले सामाजिक दुरी कायम गरेर बस्नुपर्नेछ। जहाजमा भने सबै सिटमा यात्रु राख्न अनुमति दिइएको प्राधिकरणले जनाएको छ।

तर यात्रुले अनिवार्य मास्क, भाइजर प्रयोग गर्नुपर्नेछ। विमानस्थलमा अनिवार्य ज्वरो नापिनेछ।


प्रकाशित | १७ असार २०७८, बिहीबार १५:४१