दुबईमा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु

एजेन्सी: दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट दक्षिणमा विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ।यूकेमा दर्ता गरिएको डीए४२ विमानमा तीन ब्रिटिश तथा एक दक्षिण अफ्रिकी नागरिक को मृत्यु भएको यूएईका अधिकारीहरूले बताएका छन्।

वेस्ट ससेक्सस्थित शरम विमानस्थलबाट सञ्चालित फ्लाइट क्यालिब्रेशन सर्भिसेज नामक कम्पनीको स्वामित्वमा रहेको सो चारसिटे विमानमा चालक र सहचालकबाहेक दुई यात्रु सवार थिए।दुर्घटनाबारे छानबिन थालिएको यूएईको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सो विमान बिहीवार साँझ ७स्३० बजेतिर तल झरेको थियो।सो दुर्घटनापछि अतिव्यस्त मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थल झन्डै ४५ मिनेट बन्द भएको थियो। विमानस्थलतिर आएका विमानलाई अन्तै मोडिएको थियो भने उड्न लागेका विमानहरू ढिलो उडेका थिए।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार १३:२२