अबुधाबी । नेपाली राजदूतावास अबुधाबीले यूएईबाट नेपाल जान चाहने यात्रुहरूले ९ बुँदा अनिवार्य पालना गर्नुपर्ने सूचना जारी गरेको छ । राजदूतावास अबुधाबीले एक विज्ञप्ति जारी गर्दै पालना गर्नुपर्ने नियमहरुबारेमा जानकारी गराएको हो ।
विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ बमोजिम संयुक्त अरब इमिरेट्स (युएइ) बाट नेपाल जान चाहने यात्रुहरूले निम्नानुसारका शर्त पूरा गरी यात्रा गर्न सकिने राजदूतावासले जनाएको छ ।
१. फोटो एवं Barcode/QR Code सहितको पछिल्लो ७२ (बहत्तर) घण्टाभित्रको कोभिड-१९ पि. सी. आर. (PCR) परीक्षणको नेगेटिभ रिपोर्ट हुनुपर्ने।
२. कोभिड संकट व्यवस्थापन केन्द्रको वेबसाइटमा रहेको विदेशबाट नेपाल आउने व्यक्तिले भर्नुपर्ने फारम अनलाइनमा भरी प्राप्त हुने बारकोड प्रिन्ट गरी साथमै लिएर जानुपर्ने। उक्त फाराम तलको लिङ्कमा उपलब्ध छ।
३. यसरी नेपाल जाने यात्रुहरूले आफ्नै खर्चमा ७ दिनसम्म होटल क्वारेन्टिनमा बस्नुपर्ने। सूचीकृत होटलहरूको विवरण दूतावासको वेबसाइटमा राखिएको छ।
४. कोभिड-१९ विरुद्धको खोपको मात्रा (दुवै डोज) पूरा गरी खोप प्रमाणपत्र भएका र कोभिड-१९ परीक्षण रिपोर्ट नेगेटिभ भएका यात्रुको हकमा भने अनिवार्य १० दिन स्व-क्वारेन्टिन (Self-quarantine) मा बस्ने गरी सीधै गन्तव्यस्थल जान दिन सकिने।
५. अन्तिम संस्कार (काजक्रिया) मा सहभागी हुन जाने व्यक्तिलाई स्थानीय तह वा सिसिएमसिको सिफारिसको आधारमा स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्ने गरी घर वा गन्तव्यमा जान अनुमति दिइने।
६. अशक्त, दीर्घ रोगी, फरक क्षमता भएका व्यक्तिहरू र बिरामीसँगै जाने बढीमा दुई जनासम्म कुरुवाहरूलाई अस्पतालबाट जारी आधिकारिक कागजातका आधारमा कम्तीमा १० दिन होम क्वारेन्टिन वा अस्पतालमा पठाइने।
७. त्यस्तै ७५ वर्षमाथिका ज्येष्ठ नागरिक वा ५ वर्ष मुनिका नाबालक र नाबालकसँगै आएका निजका आमा र बाबुको हकमा कम्तीमा १० दिन स्थानीय तहको अनुगमनमा होम क्वारेन्टिनमा बस्ने गरी पठाइने ।
८. माथि बुँदा नं. ५, ६ र ७ को प्रावधानबमोजिम होम-क्वारेन्टिनमा जानका लागि विमानस्थलमा गरिने Antigen परीक्षणको रिपोर्ट नेगेटिभ आउनुपर्ने । तर Antigen परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएका व्यक्तिहरूलाई आइसोलेशन सेन्टर वा अस्पतालमा पठाइने। Antigen परीक्षणको रिपोर्ट नेगेटिभ आइ होम-क्वारेन्टिनमा गएका यात्रुहरूले एघारैँ दिनमा पिसिआर परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने।
९. ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८’ को पूर्ण पाठ दूतावासको वेबसाइटमा राखिएको छ।
प्रकाशित | १६ असार २०७८, बुधबार २१:२२