जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

एजेन्सी । उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको प्रि-क्वाटरफाइनलमा जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।

लण्डनस्थित वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाए । उनले लुक शको पासमा गोल गरेका थिए । 

त्यसपछि खेलको ८६ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २-० को जित दिलाए । उनले ज्याक ग्रेलिसको पासमा हेडरमार्फत गोल गरेका हुन् । यससँगै इंग्ल्यान्ड क्वाटरफाइनलमा पुग्ने सातौं टिम बनेको छ । जर्मनी भने प्रतियोगिताको राउण्ड अफ १६ बाट बाहिरिएको छ ।

इग्न्ल्यांडले समूह चरणमा ‘डी’ को समूह विजेता बन्दै राउण्ड अफ १६ मा स्थान बनाएको हो । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको थियो । जर्मनीले समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । जर्मनीले ३ खेलमा ५ अंक जोडेको थियो ।


प्रकाशित | १५ असार २०७८, मंगलवार २३:४७