१० अर्बको लगानी कोषलाई अघि बढाउन देखा परेका कानूनी र ब्यवहारिक कठिनाईलाई सम्बोधन गर्न केसीको माग

काठमाडौं :  गैर आवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसीले नेपाल सरकारसहितको लगानी रहेको १० अर्बको लगानी कोष ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’लाई अघि बढाउन देखा परेका कानूनी र व्यवहारिक कठिनाईबारे सरकारको ध्यानर्कषण गराउनु भएको छ ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाई ज्ञापन गर्न एनआरएनएको टोलीसहित बालुवाटारमा पुग्नु भएको डा. केसीले १० अर्बको लगानी कोषका कठिनाईलाई तत्काल सम्बोधन गर्न माग गर्नु भएको हो ।

विदेशमा रहेका बहुसंख्यक नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्नेमा जोड दिनुहुँदै डा. केसीले विदेशमा कामका शिलशिलामा अंगभंग भएका नेपालीलाई स्वदेश फिर्ता गर्नुका साथै उनीहरुका परिवारलाई आर्थिक सहायतासहित पुर्नएकीकरण लगायतका विषयमा नेपाल सरकारले पहलकदमी लिनुपर्नेमा सरकारको ध्यानर्कषण समेत गराउनुभयो ।

सो क्रममा प्रधानमन्त्री दाहालले नेपालमा विद्यमान कतिपय कानूनी प्रावधानले सिर्जना गरेका अप्ठ्यारालाई नेपाल सरकारले क्रमशः सच्याउँदै आएको र अबको दिनमा पनि कानूनी उल्झनलाई पन्छाउने प्रयास आफ्नो तर्फबाट जारी रहने बताउनुभयो ।

‘नेपालका कतिपय परम्परागत ऐन कानून छन्, जसले म नेपालका लागि केही गर्छु भन्नेलाई पनि बाधा व्यवधान खडा गरेको छ, तपाईहरुलाई विश्वस्त पार्न चाहान्छु कि, म त्यस्ता खालका पर्खाललाई भत्काउनेछु’ , प्रधानमन्त्रीले भन्नुभयो ।


प्रकाशित | २ माघ २०७९, सोमबार १९:४५