दोलखामा सुन्द्रावती खोलाले कार बगाउँदा एकको मृत्यु, दुई घाइते

दोलखा: दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले कार बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । अविरल वर्षापछि बढेको खोलाले कार बगाउँदा तामाकोशी गाउँपालिका–३ जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही कारमा सवार तामाकोशी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र चालक रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ का पवन पौडेल घाइते भएका छन् । घाइते दुवैको अवस्था सामान्य रहेको र उनीहरुको सदरमुकाम चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सिङ्गटीबाट चरिकोटतर्फ आउँदै गरेको इकोस्पोट बा१९च ४३९० नंको कार गए राति ११ः३० बजेको समयमा सुन्द्रावतीखोला तर्ने क्रममा आएको बाढीले बगाएको थियो । अविरल वर्षासँगै खोला बढेकाले घटना भएको स्थानीयवासीले बताएका छन् ।


प्रकाशित | २० भाद्र २०७६, शुक्रबार ०८:३९