सेफको आँखामा दही चिउरा र धान दिवस

सेफ प्रेमलाल घिसिङ

नेपालका विभिन्न चाडपर्व र दिवसहरु धार्मिक र सांस्कृतिक दृष्टिकोणले मात्र होइन, व्यवहारिक जीवन शैलीको परिप्रेक्ष्यमा पनि ज्यादै मेल खाएका हुन्छन् । मौसम र भौगोलिक अनुरुप उब्जिने, फल्ने, गाँजिने, पाक्ने अन्न, फलफूल, गेडागुडी, सागपात आदि खाद्य पदार्थहरु विभिन्न समुदायले आफ्नै किसिमका परिकारहरु बनाई, सजाई र उपभोग गरी चाडपर्वहरु मनाउने गर्छन् । प्रकृतिले प्रदान गरेका खाद्य उत्पादनहरुलाई प्रशोधन गरी विभिन्न चाडपर्व अनुसार, रुचीकार, स्वस्थकर एवम् आकर्षक ढङ्गले उपभोग गर्ने चलन नेपाली समाजमा चल्दै आएको छ । झण्डै हप्तैपिच्छे आउने यी चाडपर्वहरुले मौसमको परिवर्तनसँगै जिब्रोको स्वाद पनि फेर्ने मौका दिन्छ ।

नेपाली खाद्यान्नहरुमा धान सर्वाधिक महत्वपूर्ण उत्पादन हो र यसको प्रयोग विभिन्न चाडपर्वहरुमा मौलिक ढङ्गले बढि नै प्रयोग गरेको पाइन्छ । त्यसैले होला नेपाल सरकारले असार पन्ध्रलाई धान दिवसको रुपमा मनाउने गर्छ । असारलाई मानो खाएर मुरि उव्जाउने समय पनि भन्ने चलन रहेको छ । असार पन्ध्रलाई हिले जात्रा, रोपाइ जात्रा अथवा दहि चिउरा खाने दिन जस्ता नामले पनि मनाउने चलन नेपाली समाजमा रहेको छ ।

नेपालमा वि.सं २०६२ साल देखि धान दिवास मनाउन सुरु गरिएको हो । विश्वको ९० प्रतिशत धान एसियामै उत्पादन हुने विश्व खाद्य संगठनले जनाएको छ । यसको आधा खपत पनि एसिया मुलुकमै हुने गरेको देखिन्छ । विश्वका ११४ मुलुकमा धानको उत्पादन हुने गर्दछ । त्यस मध्य सबैभन्दा बढि धान उत्पादन गर्नेमा चीन पहिलो नम्बरमा आउछ । नेपालको कुल ग्राहस्थ उत्पादनमा २९.४ प्रतिशत योगदान कृषि क्षेत्रको छ । कृषि गा्रहस्थ उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको कृषि विकास मन्त्रलयको तथ्यांकले बताउछ ।

नेपालको भौगोलिक र मौसमका आधारमा चैते, बर्खे, भदैय, घैया, हिउँदे धानको खेती हुन्छ । मनाङ र मुस्ताङ बाहेक ७३ जिल्लामा धान खेती हुन्छ । तराई, मध्य पहाड र उच्च पहाडमा नेपाल कृषि अनुसन्धान परिषदले विकास गरेको ६३ जातका धानको खेती गरिन्छ ।

असार १५ लागेपछि बादलहरु पूर्णरुपमा परिपक्व भएर पानीका धाराहरु बर्षिन्छ । माटाहरु पानीमा रुझेर हिलोको स्वरुपमा कमलो हुन्छन् अनि तिनै कमलो माटोमा असारेभाका गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । मध्य गर्मिको यो समयमा रोपार युवा युवातिहरु एक अर्कमा हिलो छ्यापाछ्याप गरेर मनोरन्जन लिन्छन् । काम गर्ने खेतालाहरुलाई खेतमै खाजा लगी खुवाउने चलन छ । उपत्यमा विशेषगरि खाजाको रुपमा दहि चिउरा खुवाउने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई शक्ति प्राप्तीको लागि दहि चिउरा खाने चलन रहेको छ । यसरी दहि चिउरा खाँदा शरिरमा शितलता प्रदान भई शक्ति आउने कथन रहेको छ ।

हाम्रो नेपाली समाजमा वर्षायाममा पेटलाई स्वस्थ राख्न असार पन्ध्रका दिन दही चिउरा समुहमा बसेर खाने चलन लोकप्रिय बन्दै गएको छ । तराईतिर यसरी खेतमा खेतालालाई लगिदिएको खाजालाई जलखाई भनिन्छ । समान्यतया जलखाईमा गहुँको पिठोको मोटो रोटि र नुन खोर्सानीको अचार आदी लगिदिने चलन छ । तराइ क्षेत्रमा खेतमा मालिक आँफै आईपुगे सबैजना खेतालाले जग्गाधनीलाई हिलो छ्यापेर भगाउने चलन रहेको छ ।

त्यसैगरि जिरेल समुदायले भने रोपारहरुलाई खाजाको रुपमा पोल्दोक दिने चलन् छ । पोल्दोक विशेषगरि डल्ले जाँडमा सातु मिसाएर डल्लो डल्लो बनाएर बनाइन्छ । रोपारहरुले अन्तिममा चाहि केहि मात्रामा डल्लोहरु राखेर एक अर्कालाई हिर्काएर रमाइलो गर्ने चलन छ ।
यसरी नेपालमा विभिन्न ठाउँमा भुगोल र समुदाय अनुसार फरक फरक तरिकाले असार पन्ध्र अर्थात रोपाई मेला मनाउने चलन छ । असार महिना सामाजिक र आर्थिक मात्र नभई साहित्यिक महत्व पनि उतिकै रहेको छ । असार महिनामा विभिन्न किसिमका रोमाञ्चक र जनमानसमा प्रचलित गीतहरु पूस्तौँदेखि असारको सेरोफेरोमा लेखिएका र गाइएका पाइन्छन् । यस्ता गीतहरु धान रोप्दै गाइने भएकाले सरल र सुस्तरी गाइन्छ ।

लेखक : नेपाली मौलिक तथा रैथाने खाना खोज तथा अनुसन्धान अभियन्ता, केन्द्रीय सचिव ग्लोवल नेप्लीज सेफ फेडेरेशन


प्रकाशित | १५ असार २०७८, मंगलवार ०७:१५