भक्तपुरबाट सञ्चालनमा आयो रेडियो हिमालयन

भक्तपुर : भक्तपुरबाट थप एक रेडियो सञ्चालनमा आएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका–८ सिपाडोलको जगातेमा आजबाट ५०० बाटको क्षमता रहेको रेडियो हिमालयन ९९.७ मेगाहर्जको सञ्चालनमा आएको हो । प्रदेश नं ३ का प्रदेश सदस्य डा राजेन्द्रमान श्रेष्ठले रेडियो हिमालयनको एक कार्यक्रमकाबीच आज उद्घाटन गर्नुभयो । साथै स्टुडियोमा रहेको लोगो अनावरण एवं अनलाइन संस्करण रेडियो हिमालयन डट कमको स्वीच थिचेर उद्घाटन गर्नुभयो ।

कार्यक्रममा प्रदेश सदस्य डा श्रेष्ठले समाजलाई सही सूचना र खबर प्रदान गर्नुपर्ने औँल्याउँदै देश कै नमूना र रेडियो बन्नुपर्ने बताउनुभयो । उहाँले गलत समाचारको बाढी आइरहेको बेलामा एकैपटक रेडियो र अनलाइनबाट समाचारसँगै विश्वभरबाट विभिन्न कार्यक्रम सुन्न सकिने गरी सञ्चालनमा ल्याएको यो रेडियोले विश्वभर देशको सकारात्मक सन्देशलाई प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश नं ३ का अर्का सदस्य प्रतिमा श्रेष्ठ, अर्का सदस्य सरस्वती बाटी, गरीबी निवारण कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराई, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख एवं रेडियो हिमालयनका सल्लाहकार सञ्चालक सोमप्रसाद मिश्र, नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, नेकपाका भक्तपुर अध्यक्ष बचन देउजा, नेपाली काङ्ग्रेस भक्तपुरका सचिव निशान ढुङ्गेलले धारणा राख्नुभएको थियो ।

कार्यक्रमका सभापति एवं सञ्चालन समितिका अध्यक्ष रवि खड्काले २१औँ शताब्दीको वर्तमान समयमा छिटोभन्दा छिटो समाचार एवं खबरहरु आम स्रोता समक्ष पु¥याउने मुख्य उद्देश्यले रेडियो हिमालयन सञ्चालनमा आएको अध्यक्ष रवि खड्काले बताउनुभयो ।

छिटोभन्दा छिटो सूचना र समाचार सम्प्रेषणसहित विभिन्न कार्यक्रमहरु उत्पादन र सम्प्रेषण गर्दै रेडियो हिमालयनको अनलाइन संस्करणमार्फत एकैसाथ विश्वभर सुन्न सकिने यो रेडियोले स्वदेश तथा विदेशमा रहेका स्रोताहरुको मन जित्न सफल हुने एफ।एम।का कार्यकारी निर्देशक सोम शर्मा (बजगाई) ले जानकारी दिनुभयो ।

रेडियो हिमालयनले दैनिक ६ वटा समाचार बुलेटिन प्रस्तुत गर्ने भएको छ । आजबाट पूर्णकालीन रुपमा सञ्चालनमा आएको उक्त रेडियो हिमालयनले आफ्नो प्रशारण दैनिक रुपमा बिहान ५ बजेदेखि राती ११ बजेसम्म १८ घण्टा नियमित रुपमा प्रशारण गर्ने गरी सञ्चालनमा आएको जनाइएको छ ।


प्रकाशित | २१ असार २०७६, शनिबार १४:४३