एनआरएनए यूकेको अध्यक्ष पदमा यसकारण मेरो उम्मेदवारी

दीपक श्रेष्ठ- अध्यक्ष प्रत्यासी, एनआरएनए युके (२०२१-०२३)

अहिले हामी बेलायतबासी नेपालीहरुको अभिभावक संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको महाधिवेशनको संघारमा छौं । आगामी दुई वर्षको लागि संस्थामा सबल, सक्षम र गतिशिल नेतृत्व चुन्ने र चुनिने प्रक्रियामा अगाडि बढिरहेका छौ । यसअवधिमा हामीले सदस्यता लिने काम सम्पन्न गरिसकेको छौ । निर्वाच्नमा सहभागि बन्नका लागि यहाँहरुले सदस्यता समेत लिइसक्नु भएको छ । हामी गैर आवासीय नेपालीहरुको नेपाली नागरिकताको निरन्तरतादेखि नेपालमा पौतृक सम्पत्तिको हक अधिकारको मुद्दा लगातार पैरवी गर्दै आएको र नेपाल सरकारबाट मान्यताप्राप्त प्रवासका नेपालीहरुको एक मात्र आधिकारिक संस्था हुनुका नाताले पनि यो अभियानमा हाम्रो संलग्नता र सहभागिता अनिवार्य छ ।

सामाजिक जीवन र गैर आवासीय नेपाली अभियानमा मेरो संलग्नता र सहभागिताका बारेमा यहाँहरुलाई अवगतै छ । सन् २००७ मा बेलायत आएदेखि नै साधारण सदस्यका रुपमा म एनआरएनएमा आबद्ध भएको थिएं । सन् २०१३ १५ मा पहिलोपटक मैले कार्यसमितिको सदस्यका रुपमा संस्थाभित्रै रहेर काम गर्ने अवसर प्राप्त गरें । पछि सन् २०१५ मा मुछेत्र गुरुङ नेतृत्वमा निर्वाचित एनआरएनए युकेको कार्यसमितिमा कोषाध्यक्षको जिम्मेवारी मैले पाएँ ।

संस्थाका आम सदस्यहरु मात्र नभई सिंगो समुदायले ठूलो चासो राखेको पारदर्शितासहितको आर्थिक व्यवस्थापनको जिम्मेवारीमा सक्दो खरो उभिने प्रयास गरें । जुन कार्यमा यहाँहरुबाट प्राप्त शुभेच्छा र साथ, सहयोग मेरो लागि उर्जा र हौसला थिए ।

एनआरएनए युकेमा काम गर्दै जाँदा थप गर्हौं जिम्मेवारी बोक्ने आकांक्षा पलाउँदै गएको छ । सन् २०१७ मा उपाध्यक्षको उम्मेदवारको रुपमा प्रतिस्पर्धामा गएँ, यहाँहरुको साथ, समर्थनका बाबजुद म पराजित हुन पुगें । निर्वाचनको नतिजा स्वीकार गरे पनि एनआरएनए अभियानबाट टाढा नरही निरन्तर क्रियाशिल भने रहें । तपाईंहरुकै प्रेरणा र साथ, सहयोगबाट सन् २०१९ को निर्वाचनमा एनआरएनए इंग्ल्याण्डको पहिलो कार्यसमितिको अध्यक्षका रुपमा निर्वाचित बनें ।

इंग्ल्याण्ड राज्य परिषदको अध्यक्षका हैसियतमा जे, जति काम गर्न सकें, तपाईंहरुमाझ जग जाहेर नै छ । नेपाली नागरिकता निरन्तरता सम्बन्धी कार्यक्रम , बांकी रहेको सदस्यता कार्ड बितरण र बेलायतको जनगणनामा हाम्रो हक अधिकार र पहिचान सुनिश्चित गराउन र ब्यापक सहभागीताको लागि जन सचेतना अभियान कार्यक्रम आयोजना गरेका थियौ । कोभिड महामारीले सिर्जना गराएको चरम प्रतिकुलताका बावजुद हामी निस्क्रिय बसेका छैनौं, सक्दो गर्ने कोशिश निरन्तर गरिरहेका छौं ।

विगतका दिनमा तपाईंहरुबाट प्राप्त साथ, सहयोग, हौसला र मार्गदर्शनले मलाई अब हाम्रो यो गरिमामय संस्थाको नेतृत्व गर्नतर्फ उत्साहित बनाएको छ । बुद्ध नेपालमा जन्मेका हुन् र कपिलबस्तु भारतमा होईन नेपालमा पर्छ भनेर प्रचार प्रसार गर्ने उद्देश्यले मैले २०१२ मा मैले कपिलबस्तु समाज यूकेको स्थापना गरें । सो संस्था मार्फत संस्थाको उद्धेश्य अनुसार काम गर्दै सामाजिक कार्यमा पनि केन्द्रित रही कार्यसमितिको साथमा दुतावासको घुम्ती टोलीसंग सहकार्य गरी एम आर पि पासपोर्ट बनाउने कार्य गरेका थियौं । त्यसै गरी नेपालमा गएको महाभुकम्पमा दशौं लाख आर्थिक तथा २ टन राहत सामाग्री संकलन गरी नेपाल पठायौं । २०१६ मा पहिलो पटक राजदुतावासको सहयोगार्थमा पार्लियामेन्ट हाउस अगाडी बुद्ध जयन्ती मनाउन सुरूवात गर्यौं जहां विभिन्न संस्थाका प्रतिनिधि तथा काउन्सिलर, एम पि तथा बुद्ध धर्मावली, भिक्षु एवं सर्वसाधारणको उपस्थिति रहेको थियो ।

मैले नेपाली राजदुतावासद्वारा आयोजित क्रिकेट म्याच हुंदा मैले आर्थिक संयोजन गर्दै टिम संग ठाउं ठाउंमा पुगेर व्यापक प्रचार प्रसार गरी हजारौंको संख्यामा दर्शक बटुली कार्यक्रम सफल बनाएका थियौ ।  त्यसैगरी मैले बुद्ध फाउन्डेसन युकेको अध्यक्षको हैसियतमा लण्डनको मुटु मानिने ट्राफलगर स्क्वायरमा “बुद्ध नेपालमा जन्मिएका हुन“ भनेर प्रचार प्रसारका लागि नेपाली राजदुतावाससंग सहकार्य गर्दै विभिन्न देशका राजदुतहरू, विभिन्न संघ सस्था तथा नेपाली दाजु भाइ दिदी बहिनी बुबा आमाहरूको उपस्थितिमा बुद्ध जयन्ती मनाउंदै आएका छौं ।

कपिलवस्तु समाज युकेको संस्थापक अध्यक्ष लगायतका संस्थाको नेतृत्व गर्दा होस् वा अन्य सामाजिक संस्था र अभियानहरुमा संलग्न बन्दा नै किन नहोस्, तपाईंहरुबाट प्रशस्त सद्भाव, सहयोग र साथ पाउंदै आएको छु । एनआरएनए युकेलाई तपाईंहरुले खोजेजस्तै र रोजेजस्तै बनाउने र तपाईंहरु सबैको भावना र चाहनालाई समेट्ने गरी काम गरेर देखाउन म प्रतिबद्ध छु । मेरो पुन बिनम्र अनुरोध छ, मलाई एक पटक एनआरएन यूकेको नेतृत्व गर्ने अवसर दिनुहुनेछ भन्नेमा पूर्ण विश्वस्त छु । धन्यवाद ।


प्रकाशित | १२ असार २०७८, शनिबार १६:४०