पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनु भएको छ । गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नेपालीलाई नेपालको संविधानको धारा १६८(५) बमोजिम प्रदेश प्रमुखमा नियुक्त गर्नु भएको हो ।
पोखरेलले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री बन्न सफल हुनु भएको हो । नेपाली कांग्रेस संसदीय दलका ७१ वर्षीय नेता पोखरेल नवलपरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।
यस्तो छ पोखरेलको राजनीतिक इतिहास
२००६ साल मंसिर १३ गते तनहुँको तनहुँसुरमा जन्मेका पोखरेल २०२८ सालबाट कांग्रेस राजनीतिमा प्रवेश गर्नु भयो । पोखरेल २०२८ सालमा नेपाली कांग्रेसको जिल्ला सदस्य बन्नु भयो ।
कांग्रेसमा आफ्ना बुवाको प्रेरणाबाट सक्रिय हुनु भएको पोखरेलले प्रजातान्त्रिक आन्दोलनका क्रममा ६ पटकभन्दा बढी जेलनेल समेत भोग्नु भयो । उहाँको पिता गोवद्र्धन शर्मा तनहुँको कांग्रेस राजनीतिमा सक्रिय हुनुुहुन्थ्यो । उहाँको परिवार तनहुँबाट बसाइँसराइ गरी पूर्वी नवलपरासीमा बसोबास गर्न थालेको हो ।
पोखरेल २०७४ को प्रदेश सभा निर्वाचनमा नवलपुर (पूर्वी नवलपरासी) १ को ‘क’बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ । उहाँ गण्डकी प्रदेशसभामा कांग्रेस संसदीय दलको नेता समेत हुनुहुन्छ । कांग्रेसको १२ औं महाधिवेशनबाट केन्द्रीय समिति सदस्य बन्नु भएका पोखरेल १३ औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा पराजित हुनु भएको थियो ।
प्रजातन्त्र बहालीका लागि पटक–पटक जेल जीवन बिताउनु भएको पोखरेलले काभ्रे र तनहुँमा शिक्षक भएर काम समेत गर्नु भयो । शिक्षक भई राजनीतिमा सक्रिय भएको आरोपमा तत्कालीन शासकले शिक्षक पेसाबाट निकालेको थियो ।
२०२९ देखि २०३६ सम्म उहाँले अध्यापन गर्नुभएको थियो । निर्वाचन बहिष्कार गर्ने क्रममा २०३७ साल र पहिलो जनआन्दोलन २०४६ मा उहाँले जेल जीवन भोग्नु पर्यो ।
२०४८ सालपछि निरन्तर झण्डै २० वर्ष पार्टी नवलपरासी कांग्रेसको जिल्ला सभापति बन्नु भएको पोखरेल २०४८ सालको निर्वाचनमा नवलपरासी–४ बाट उम्मेदवार बन्नु भएको थियो । यसैगरी, २०७० सालको संविधानसभा निर्वाचनमा नवलपरासी क्षेत्र नं.३ प्रत्यक्षतर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । तर उहाँ पराजित हुनु भयो ।
पोखरेल २ विषयका स्नातक हुनुुहुन्छ । उहाँले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गर्नु भएको छ ।
प्रकाशित | २९ जेष्ठ २०७८, शनिबार १८:५७