सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीश र प्रमुख निर्वाचन आयुक्तले लिए शपथ

काठमाडौं : सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले उहाँहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा शपथ लिने नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र मनोजकुमार शर्मा रहेका छन् ।

उहाँहरूमध्ये ढुङ्गाना र माथेमा उच्च अदालतको मुख्य न्यायाधीश हुनुहुन्छ भने रेग्मी, फुँयाल र शर्मा कानून व्यवसायी हुन्। प्रधानन्यायाधीश राणाले सोही समारोहमा नवनियुक्त प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

यस्तै, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीबाट सोही समारोहमा उक्त आयोगका नवनियुक्त सदस्य विष्णुमाया ओझाले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । राष्ट्रपति भण्डारीले उहाँहरू ७ जनालाई तत् पदमा गत शुक्रबार नियुक्ति गराउनुभएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश न्याय परिषद्को सिफारिसमा तथा प्रमुख निर्वाचन आयुक्त र राष्ट्रिय समावेशी आयोगका सदस्य संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका हुन्।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत र सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार १४:००