एमालेले भन्यो- वैद्यको अभिव्यक्ति आपराधिक

काठमाडौं । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभा बैठकमा दिएको अभिब्यक्तीको नेकपा एमालेले घोर भत्र्सना गरेको छ ।एमालेले वैद्यको अभिब्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको जनाएको हो । वैद्यको अभिव्यक्तिको भर्त्सना गर्दै एमालेले यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय भएको पनि ध्यानाकर्षण गराएको हो ।

प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बागमती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा (एमाले) ले अत्यन्त गम्भीर रुपमा लिएको छ । प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ ।’


प्रकाशित | २९ जेष्ठ २०७८, शनिबार ११:१२