गण्डकीमा थप ५८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४३८ पुग्यो

पोखरा : गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थप ५८ सँगै प्रदेशमा कुल संक्रमितको संख्या ४३८ पुगेको छ । नयाँ संक्रमण पुष्टी हुनेमा तनहुँमा २५, नवलपुरमा १६, बागलुङमा ८, गोरखामा ५, कास्कीमा २, स्याङ्जामा १, म्याग्दीमा १ जना रहेका छन् ।

निर्देशनालयका अनुसार तनहुँको ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा २१ जना पुरुष, व्यास नगरपालिकाको क्वारेन्टाइनमा बसेका २ जना पुरुष, सुक्लागण्डकी नगरपालिकाको क्वारेन्टाइनमा बसेका २ जना पुरुष, नवलपरासीको बुलिङटार गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ११ जना पुरुष, मध्यविन्दु नगरपालिकाको क्वारेन्टाइनमा बसेका २ जना पुरुष, बौदीकाली गाउँपालिका, विनयत्रिवेणी गाउँपालिका र देवचुली नगरपालिकाको क्वारेन्टाइनमा बसेका १–१ जना पुरुष रहेका छन् ।

यस्तै बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ७ जना पुरुष र एक जना महिला, गोरखाको भिमसेन नगरपालिकाको क्वारेन्टाइनमा बसेका ५ जना पुरुष, कास्कीको मादी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक पुरुष र १९ महिनाको बालिका, स्याङ्जाका १ पुरुष र म्याग्दीको मालिका गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित सबैलाई सम्बन्धीत जिल्लामा स्थापना गरिएको आइसोलेसनमा ल्याउँने तयारी भइरहेको छ । नयाँ संक्रमण पुष्टी भएका सबै भारतबाट आई स्थानीय तहले स्थापना गरेको क्वारेन्टाइनमा बसेकाहरु रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश को फोटो।

प्रकाशित | ६ असार २०७७, शनिबार ०९:५७