शुल्क लिएर कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेमाथि कारबाही

काठमाडौं। सरकारले शुल्क लिएर कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेमाथि कारबाही गर्ने चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक क्षेत्र अनुसार खोप वितरण भइरहेकोले शुल्क लिएर खोप लगाउनेमाथि कारबाही गर्ने चेतावनी दिनु भएको हो ।

मन्त्रालयले पैसा तिरेर खोप किन्न हतार नगर्न अनुरोधसमेत गरेको छ। ‘सरकारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क विवरण गर्दै आइरहेको छ,’ सूचनामा भनिएको छ,‘त्यसैले कसैले पनि शुल्क मागेर खोप उपलब्ध गराउने कुरा गरेमा वा त्यस्ता ठगी गर्नेको जानकारी तुरुन्तै स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी गरौैं।’

नेपालमा हालसम्म २५ लाख ८७ हजार ८७३ जनालाई पहिलो डोज र सात लाख ५२ हजार ११० जनालाई दोस्रो डोज प्रदान गरिएको छ।


प्रकाशित | १४ असार २०७८, सोमबार २२:१३