विश्वभरका एनआरएनए एनसिसीहरुमा छायो चुनावको रौनक, कहाँ कस्तो तयारी ? (भिडियो रिपोर्ट)

काठमाडौं। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्हरुको निर्वाचन धमाधम शुरु हुन थालेको छ । विश्वभरि ८० भन्दा बढी राष्ट्रिय समन्वय परिषद् रहेको एनआरएनएको निर्वाचन धमाधम शूरु हुन थालेको हो ।

हालसम्म मध्यपूर्वको ओमान र एनआरएनए अमेरिकाले निर्वाचन सम्पन्न गरिसकेका छन् । ओमानमा विकल झा र अमेरिकामा बुद्धि सागर सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भइसकेको छ ।

गैर आवासीय नेपाली संघ अन्तरािष्ट्रय समन्वय परिषद्ले आगामी जुलाईभित्र निर्वाचन सम्पन्न गर्न एनसिसीहरुलाई निर्देशन दिएको छ । केन्द्रको निर्देशन अनुसार यतिखेर विश्वभरका एनसिसीहरु धमाधम निर्वाचनको तयारीमा जुटिरहेका हुन् ।

कोरोना महामारीका कारण प्रभावित भइरहेको एनआरएनएको निर्वाचन फिजीकल रुपमा सम्भव नभए पनि भर्चुअल अर्थात अनलाईनको माध्यमबाट भइरहेको छ । अमेरिकामा अनलाईन भोटिङमार्फत निर्वाचन सम्पन्न भएको छ भने ओमानमा भर्चुअल जुममार्फत सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको छ । यो पटक अधिकांश देशमा अनलाईन भोटिङ हुने भएको छ ।

आगामी (२०२१–०२३) कार्यकालको लागि नयाँ कार्यसमिति चयन हुने निर्वाचनको लागि एनसिसीहरुले नयाँ सदस्यता खुला र नवीकरणको लागि समयसीमा तोक्दै निर्वाचन समिति गठन गरिसकेका छन् । ठूला एनसिसीहरु अष्टेलिया, यूकेले आगामी जुलाई ३१ र जापानले जुलाई २५, कतारले ९ तारिखका लागि चुनावको मिति घोषणा गरिसकेका छन् भने अन्य एनसिसीहरु मिति घोषणाको तयारीमा छन् ।

गैर आवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले आफ्नो क्षेत्रभित्र पर्ने अमेरिकाको निर्वाचन सम्पन्न भइसकेको र क्यानडाको आगामी जुलाई ११ तारिखमा हुन लागेको जानकारी दिनु भयो ।

एनआरएनए यूरोप क्षेत्रका क्षेत्रीय संयोजक नारायण आचार्यले यूरोपमा रहेका २९ एनसिसीहरुमध्ये २० एनसिसीहरुले निर्वाचन प्रक्रिया अगाडि बढाइसकेको र अन्य देशहरुमा सदस्यता वितरणको कार्य भइरहेको बताउनु भयो ।

यूरोपमा आगामी जुलाई ५ तारिखदेखि ३१ तारिखभित्र सम्पन्न गर्ने गरि निर्वाचन सम्बन्धी कार्यतालीका तय भएको उहाँले बताउनु भयो । निर्वाचन तयारी सँगै नेपालको चलेको कोभिडको दोस्रो लहरको लागि राहत संकलन कार्य भइरहेको र करिब साढे ३ करोडभन्दा बढी संकलन गरेर नेपालमा स्वास्थ्य सामाग्री पठाउन लागिएको जानकारी पनि गराउनु भयो ।

एनआरएनए अफ्रिका क्षेत्रका क्षेत्रीय संयोजक रोशन थापाले नेपालमा कोरोना महामारी फैलिरहेको र आफन्तजन अक्सिजन नपाएर छटपटाइरहेको अवस्थामा निर्वाचन भन्दा पनि राहत कार्यमा बढी केन्द्रित भइरहेको बताउनु भयो ।

त्यस्तै, संयोजक थापाले अफ्रिकामा सकेसम्म सबै एनसिसीहरुको सर्वसम्मत नेतृत्व चयन हुने पनि बताउनु भयो । उहाँले वर्तमान विशेष परिस्थितिमा सकेसम्म निर्वाचन ६ महिना पर सार्नुपर्ने विचार पनि ब्यक्त गर्नु भयो ।

एनआरएन मध्यपूर्वका संयोजक प्रवीण गुरुङले ओमानको निर्वाचन सम्पन्न भइसकेको र अन्य एनसिसीहरुले निर्वाचनको प्रक्रिया अगाडि बढाउँदै आगामी २३ तारिखसम्म सम्पन्न गर्ने तयारी गरिरहेको बताउनु भयो ।

एसिया प्याशिफिक क्षेत्रका क्षेत्रीय संयोजक गोविन्द श्रेष्ठ (रोविन्द ) ले सबै एनसिसीहको चुनाव अनलाईमार्फत सम्पन्न गर्ने तयारी भइरहेको बताउनु भयो । सबै एनसिसीमा निर्वाचन समिति गठन गर्दै सदस्यता खुला गरिएको उहाँको भनाइ छ । संयोजक श्रेष्ठले निर्वाचनसँगै नेपालमा कम्तिमा तीन वटा अक्सिजन प्लान्टको लागि सहयोग संकलन गर्ने कार्य भइरहेको उहाँले बताउनु भयो ।

एनआरएनए ओसिनिया क्षेत्रका क्षेत्रीय संयोजक होम पाण्डेले सक्रिय एनसिसीहरु अष्ट्रेलिया र न्यूजील्याण्डले निर्वाचन सम्बन्धी कार्यतालीका सार्वजनीक गर्दै आवश्यक तयारीमा जुटिरहेको बताउनु भयो । उहाँले आइसिसीले तोकेकै मिति भित्रै निर्वाचन सम्पन्न गरिने पनि बताउनु भयो ।


प्रकाशित | २२ जेष्ठ २०७८, शनिबार १६:०६