प्रचण्ड- माधवलाई सूर्य चिन्ह पाउने सपना नदेख्न महेश बस्नेतको चेतावनी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का प्रभावशाली युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले कुण्ठा र लोभी पापीले सूर्य चिन्ह पाउने सपना नदेख्न चेतावनी दिनुभएको छ । १० वर्षे जनयुद्धको नाममा १७ हजारको हत्याको दाग लागेकाहरुले तत्कालिन नेकपा एमालेको चुनाव चिन्ह आश गर्ने कुनै अधिकार नभएको बताउनुभयो ।

नेता बस्नेतले पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाललगायतलाई लक्षीत गर्दै कुण्ठा र लोभी पापीले सूर्य चिन्ह पाउने सपना नदेख्न चेतावनी दिनुभयो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले नेतृत्व गरेको संस्थापन पक्षको नै सूर्य चिन्ह हुनेमा ढुक्क हुन आम कार्यकर्तालाई आग्रह गर्दै उहाँले हिम्मत भए तत्कालिन माओवादीको गोलाकार भित्र हसिया हथौडा भएको चिन्ह लिएर जनमत जितेर देखाउन चेतावनी दिनुभयो ।

प्रचण्डले निर्वाचनको समयमा सूर्य चिन्ह लिन नमानेका कारण ठूलो क्षती व्यहारोर्नु परेको उल्लेख गर्दै उहाँले भक्तपुरमा सूर्य चिन्ह लिएर निर्वाचनमा होमिएका सवै विजयी भएको साथै हसिया हथौडा लिएर निर्वाचनमा लड्ने सवै पराजय भएको उल्लेख गर्नुभयो । अर्काको चुनाव चिन्हलाई चोरेर चुनाव जित्छु भन्ने सपना नदेख्न चेतावनी दिँदै उहाँले भन्नुभयो, ‘सूर्य चिन्ह च्यातेर आफ्नो छोरी रेणु दाहाललाई जिताउनेले अहिले सोही चिन्ह आश गर्नु कुन नैतिकता हो रु बाघको छालामा स्यालको रजाई गर्ने सपना नदेखे हुन्छ ।’

माधव–प्रचण्ड गुटका नेता डा. भिम रावलले तत्कालिन एमालेको खातामा रहेको ३० लाख रुपैंया चोरेको उल्लेख गर्दै प्रचण्ड गुटका सवै नेताको ध्यान देश र जनताको पक्षमा नभई सम्पत्ती कमाउने मात्र भएको आक्रोस व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘संगत गुनाको फल मिठो भने जस्तै डा। भिम रावलले प्रचण्डको संगत भएसँगै साविक एमालेको नाममा रहेको ३० लाख रुपैंया चोरेर लगे । यस्तालाई कानुनी कारवाही गर्नुपर्छ ।’

महिलाविरुद्ध अभिव्यक्ति दिँदै डा. रावलले सार्वजनिक रुपमा नै अपमानित गर्दै हिँडेको उल्लेख गर्दै नेता बस्नेतले राष्ट्रपतिमाथि अनेक प्रकारका आरोपहरु लगाउनु लोकतन्त्रको धज्जी उडाएको बताउनुभयो । यस्ता अराजक गतिविधि गर्ने मानिसलाई युवाहरुले हिजोको युथफोर्स शैली तथा साईवर सेनाको रुपमा काम गरि अराजक तत्वलाई प्रहरीलाई जिम्मा लगाउनुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर जिल्लामा साविक माओवादीले एक सिट समेत नजितेकोमात्र नभई जमानत जफत समेत भएको इतिहास साक्षी रहेको स्मरण गर्दै माधव प्रचण्ड दुखी मनुवा भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाथीमा मानोको धान हाल्दा भरिन्छ र रहन्छ तर पार्थीको धान मानोमा हाल्दा पोखिएर प्रदेश सभामा हार व्यहोर्नु परेको अब त्यो पाथीमा मानोको धान हालेर जनताको विश्वास जित्ने दिन आएको छ ।’

भक्तपुरका जनताले सरकार तथा पार्टीको संस्थापन पक्ष विरुद्ध लाग्नेलाई ठेगान लगाउने उल्लेख गर्दै उहाँले अनेक रुपहरु परिवर्तन गरी मुलुकलाई अराजकताको बाटोमा लैजाने पात्र प्रचण्ड भएको स्पष्ट पार्नुभयो । एउटा वडामा एक एक जना खोजेर माधव –प्रचण्डले प्रधानमन्त्री केपी ओली विरुद्धको आन्दोलन सफल दिवा सपना भएको चेतावनी दिँदै राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले पद लोलुपता भएका प्रचण्ड–माधव लगायतका व्यक्तिहरु कम्युनिष्ट नभई पलायनको बाटोमा जाने निश्चित भएको बताउनुभयो ।अब जनताले सडकमा नै माधव प्रचण्डलाई डुलाउने अवस्था आएको उल्लेख गर्दै उहाँले नेतृत्वका केही नेताहरुको भ्रष्टाचार तथा अवैध गतिविधिहरुलाई प्रधानमन्त्री ओलीले छुट दिएको तर हद पार भएपछि शुदर्सन चक्र प्रहार गरी एकै पटक उठ्नै नसक्ने अवस्थामा पुर्याई कानुनी कारवाही गर्ने बताउनुभयो । केपी ओलीको नेतृत्व भएसम्म भ्रष्ट, अपराधी तथा फटाहाले मुलुकको नेतृत्व गर्न नपाउनेसमेत उहाँले स्पष्ट पार्नुभयो ।

नारायणमान विजुक्छेले वर्तमान अवस्थामा उत्कृष्ट विश्लेषण गरिरहनुभएको उल्लेख गर्दै नेता बस्नेतले विजुक्छेलाई सम्मान व्यक्त गर्नुभयो । अबका दिनमा विजुक्छेले भक्तपुरको कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान दिनेमा समेत उहाँले विश्वास व्यक्त गर्नुभयो ।


प्रकाशित | २१ पुष २०७७, मंगलवार १९:१८