अधुरा कामहरुलाई पूरा गर्न क्रियाशील रहनेछु : नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष पन्थ

टेक्सस । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष कृष्णजीबी पन्थले आफुले शुरुवात गरेको अधुरा कामहरुलाई मुर्तरुप दिने प्रतिबद्धता जनाउनु भएको छ ।

आगामी कार्यकालका लागि शनिबार र आइतबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा अत्याधिक मतका साथ विजयी बन्नु भएका पन्थले आफुले शुरुवात गरेको अधुरा कामहरुलाई मुर्तरुप दिने पनि प्रतिबद्धता जनाउनु भएको हो ।

उहाँले आशा र भरोसाका साथ जिम्मेवारी सुम्पिने अमेरिकाबासी नेपालीहरुप्रति आभार व्यक्त गर्दै निरन्तर क्रियाशील हुने उल्लेख गर्नु भयो । साथै उहाँले कोरोना विरुद्ध सबै एकजुट हुन आह्वान समेत गर्नु भएको छ ।

नेपालको स्वास्थ्य उपचारको क्षेत्रमा केन्द्रित हुनु पर्नेमा जोड दिदैं उहाँले भन्नु भयो, ‘हामी अमेरिका र संसारभर छरिएर बसोबास गरेका नेपालीहरु साथै हाम्रो पहल र कोशिशमा विश्व समुदायलाई आकर्षित गर्दै कोरोना कहरबाट बिछिप्त हुदै आक्रान्त भएको तपाई मेरो मातृभूमी नेपाल र आम नेपालीहरुको स्वास्थ्य उपचारको क्षेत्रमा आजै देखि केन्द्रित हुन हार्दिक अनुरोध गर्दछु।’

नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष पन्थले निर्वाचनमा कसैको हारजित नभएको उल्लेख गर्दै सबै मिलेर अघि बढेको खण्डमा आप्राबासी नेपालीहरुको समस्याहरु निराकरण हुँदैं जाने विश्वास व्यक्त गर्नु भयो । उहाँले थप्नु भयो, ‘दौडानमा आईपर्ने अल्झनहरुलाई समाधान गर्दै अगाडी जाने क्रममा हामी सबैको समान दायित्व हुने नै छ। आपसी मेलमिलाप, सहकार्य र सहमतिकै आधारमा नेपाली समाज अमेरिकालाई गति दिनेमा हामी सबै एकजुट बनौ भन्ने बिश्वास राख्दछु ।’ उहाँले निर्वाचनमा साथ सहयोग तथा सहभागिता जनाउने सम्पूर्णप्रति हार्दिक आभार पनि व्यक्त गर्नु भएको छ ।


प्रकाशित | १८ जेष्ठ २०७८, मंगलवार १०:१९