सम्पत्ति शुद्धीकरण अनुसन्धान निराशाजनक : नेपाल कालोसूचीमा पर्ने जोखिम

काठमाडौं:  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको फितलो कामकारबाहीका कारण नेपाल वित्तीय कारबाही कार्यदल (एफएटिएफ)को कालोसूचीमा पर्ने जोखिम बढेको छ। विभाग कानुनी हैसियत र अधिकारका हिसाबले अख्तियार दुरुपयोग अनुसन्धान आयोगभन्दा बलियो छ। तर, हैसियतअनुसार विभागले प्रभावकारी काम गर्न नसकेको नयाँ पत्रिकामा खबर छ । यसले आवश्यकताअनुरूपको प्रशासनिक स्वरूप पनि पाएको छैन। ‘विभागको अवस्था सुधार नगर्ने हो भने आगामी दिनमा नेपाल एफएटिएफको कालोसूचीमा पर्ने जोखिम छ,’ विभागका एक पूर्वमहानिर्देशकले भने।

सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागि भन्दै यो निकाय स्थापना भएको करिब आठ वर्ष पुगिसकेको छ। त्यसयता विभागले हालसम्म मात्र ४७ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ। विभागले वर्षमा औसत ६ वटा मुद्दाको अनुसन्धान टुंग्याउँछ। ढिलासुस्तीका कारण विभागमा अहिले उजुरीको चाङ लागेको छ। स्थापना भएयता आर्थिक वर्ष ०७४/७५ सम्ममा एक हजार पाँच सय ८८ उजुरी आएको विभागले जनाएको छ। त्यसमध्ये आठ सय ४९ उजुरीमाथि विभागले प्रारम्भिक जाँचबुझ गरेको छ। त्यसमध्ये दुई सय आठवटा उजुरीमाथि विभागले अनुसन्धान पूर्ण गरेको थियो।

 


प्रकाशित | १२ बैशाख २०७६, बिहीबार ०७:००