नेपालमा मनसुन सक्रिय, वर्षा जारी रहने

काठमाडौँ : नेपालमा मनसुन सक्रिय बन्दै गएको छ । मनसुन सक्रिय बन्दै जाँदा अझै एक साता वर्षा हुने क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मनसुन भित्रिएर देशभर फैलने क्रममा वर्षा सुदूरपश्चिम पुग्न थालेको छ । त्यहाँदेखि यताका क्षेत्रमा विगत एक सातादेखि नै वर्षा हुने क्रम कायम छ । अझै एक साता यो क्रम जारी रहने महाशाखाले जनाएको छ ।

मनसुन देशभर प्रशस्त रूपमा फैलने क्रममा रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । अहिले कर्णाली प्रदेशसम्म पुगेको मनसुनको सक्रियताका कारण देशव्यापी रूपमा बदलीको अवस्था रहेको जनाइएको छ ।

हाल भारतको पूर्वी उत्तर प्रदेशको भूूभागमा न्यून चापीय प्रणाली रहेको छ । मनसुन सक्रिय भएसँगै वर्षा हुने क्रम जारी रहँदा देशका ठूला, साना नदीको बहाव बढ्दैछ ।


प्रकाशित | ७ असार २०७७, आईतवार ०७:५३