कर्णालीका विमानस्थल सुरक्षित बन्दै

सागर परियार 

रोन्नतीको अभावमा असुरक्षित बन्दै गएका कर्णालीका विमानस्थल पछिल्लो समय सुरक्षित बन्दै गएका छन् । स्तरोन्नतीको प्रक्रियालाई तीव्र रूपमा अगाडि बढाएर विभिन्न खाले जोखिम कम भएपछि विमानस्थल सुरक्षित बन्दै गएका हुन् । कर्णालीमा मेसिनरी समस्याका साथै असुरक्षित विमानस्थलका कारण दुर्घटना हुने गरेका थिए ।  अब भने कर्णालीमा हवाई यात्रा भरपर्दो तरिकाले गर्न सकिने जुम्ला विमानस्थलका प्रमुख कैलाश शर्माले बताए । भौगोलिक हिसाबले बिकट कर्णालीको भरपर्दो यात्रा हवाई सेवा हो । यसलाई विश्वसनीय र सुरक्षित बनाउनु राज्यको दायित्व हो । राज्यले कर्णालीका विमानस्थल स्तरोन्ति गर्दै हवाई सेवालाई भरपर्दो तथा विश्वसनीय बनाउन थालेको उनको भनाइ छ ।

पटक–पटक कर्णालीका विमानस्थलको स्तरोन्नतीका कुरा उठेन पनि हुन सकेको थिएन । तर, यो वर्षमा जुम्ला र हुम्ला विमानस्थल स्तरोन्नती भएका छन् जसले गर्दा हवाई यात्रा अब सुरक्षित भएको उनको दाबी छ । भौगोलिक विकटता, साँघुरो तथा अव्यस्थित भएकै कारण गत जेठमा जुम्ला विमानस्थलमा सीता एयरको जहाज दुर्घटना भयो । खाल्डै खाल्डा, जताततै घाँस, रन्वेमा स्पष्ट चिन्ह नहुँदा विमानस्थल निकै असुरक्षित थियो ।

तर, दुईपटक गरिएको स्तरोन्नतीले गर्दा जुम्ला विमानस्थल निकै भरपर्दो बनेको प्रमुख शर्माले दाबी गरे । “जहाजको प्राविधिक समस्या बाहेक विमानस्थलका कारणले जुम्लामा हवाई दुुर्घटना नहुने दाबी” उनको छ । पर्यटन मन्त्रालयले गत फागुन महिनामा मुगुको ताल्चा, हुम्लाको सिमिकोट, डोल्पाको जुफाल कालिकोटको कोटवाडा र जुम्ला विमानस्थलको स्थलगत अनुगमन गरेपछि बल्ल स्तरोन्नतीका काम सुरु भएका हुन् । कर्णालीमा यातायात भन्दा अगाडि हवाई सेवालाई भरपर्दो तथा सुलभ गर्नुपर्नेमा कर्णालीवासीको जोड छ ।

जुम्ला विमानस्थल सञ्चालन

विमानस्थलको रनवे मर्मतका लागि भन्दै वैशाख ५ गतेदेखि बन्द गरिएको जुम्ला विमानस्थल बुधबारदेखि खुलेको छ । २० दिनका लागि बन्द भएको विमानस्थल निश्चित समयमै सञ्चालनमा आएर उडान भरेको छ । विमानस्थल खुलेको पहिलो दिनमा समिट एयरको जहाजले नेपालगन्ज, जुम्ला, नेपालगन्जका लागि उडान भरेको हो । अब जुम्लामा सजिलै रुपमा २÷३ जहाज अवतरण गर्न सकिनेछ । विमानस्थल प्रमुख कैलाश शर्माले भने, पहिला पाइलटहरू पनि जहाज अवतरण गर्दा डराए जस्तो गर्थे अहिले दुई जहाज पनि एकैसाथ अवतरण हुने गरेको बताए ।

जुम्ला लगायत कर्णालीको हवाई यात्रा अब सुरक्षित र भरपर्दो हुन्छ । उनका अनुसार ६ सय ७५ मिटर रनवेको कालोपत्रेको काम सकिएको हो । बाँकी पार्किंङको तथा सजावटको कार्यपनि तीव्र रूपमा बढिरहेको बताए । विमानस्थल सुरक्षा समितिको आग्रहमा गत कार्तिक ८ गतेदेखि जुम्ला विमानस्थल मर्मतको काम सुरु भयो । तर, अत्याधिक चिसोका कारण कालोपत्रेको काम हुन नसक्ने भएकोले कामबीचमै रोकिएपछि वैशाख ५ गतेदेखि मर्मतको काम सुरु भएको थियो ।

पहिलो चरणमा झन्डै ३ सय ९० मिटर रनवे कालोपत्रे भइसकेको थियो । बाँकी २ सय ८० मिटर रनवे कालोपत्रेको काम यो अवधिमा सकिएको हो । विमानस्थल सुरक्षा समितिले वैशाख ५ देखि २० दिनका लागि बन्द गरेको थियो । विमानस्थल बन्द हुँदा यात्रुले सास्ती पाए । अब आनन्दको यात्रा गर्ने भएका छन् ।

साढे ४ करोड खर्च

जुम्ला विमानस्थल स्तरोन्तिका लागि झन्डै ४ करोड ५० लाख बराबर खर्च भएको छ । प्रतिकुल मौसम, निर्माण सामाग्री संकलनमा कठिनाइ, दक्ष जनशक्तिको अभाव र आवश्यक उपकरणको समस्याले गर्दा समयमै मर्मतको काम अघि बढ्न सकेन ।
इस्टमेटअनुसार बजेट छुटाए पनि प्रतिकुल मौसका कारण काम नहुँदा आर्थिक अभाव भएको बताए । एपेक्स पृथ्वी र अमित जेभी कम्पनीले विमानस्थल मर्मतको जिम्मा पाएका थिए ।

गुणस्तर जाँच गरेर मात्रै निर्माण सामग्री प्रयोग भएकोले विमानस्थल मर्मतमा कुुनै शंका नगर्न निर्माण कम्पनीले आग्रह गरिएको छ । विमानस्थल नियमित रूपमा सञ्चालनमा आएपछि बिरामी र अति आवश्यक काम परेकाहरू सहजै रूपमा जहाजबाटै जान थालेका हुन् । विमानस्थल बन्द हुँदा कर्णाली राजमार्गको यात्रा बाहेकको विकल्प थिएन । कारोबार दैनिक


प्रकाशित | २९ बैशाख २०७६, आईतवार ०७:२४