युक्रेन घटनाबाट नेपालले पाठ सिक्नुपर्छ: नारायणकाजी श्रेष्ठ

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले युक्रेन घटनाबाट नेपालले पाठ सिक्नुपर्नेमा जोड दिनु भएको छ । युक्रेनमाथि रुसले गरेको आक्रमणबाट नेपालले पाठ सिक्नुपर्नेमा नेता श्रेष्ठले जोड दिनु भएको हो ।

‘युक्रेन घटनाबाट कुनै पनि शक्ति राष्ट्रले आफ्नो रणनीतिक स्वार्थका लागि अर्को राष्ट्रलाई प्रयोग गर्न खोज्दा र त्यसलाई स्वीकार गर्दा साना राष्ट्रको अस्तित्व नै गुम्ने खतरा उत्पन्न हुन सक्ने रहेछ’, उहाँले सामाजीक संजालमा लेख्नु भएको छ, ‘यस प्रकरणमा आमेरिकाले युक्रेनको छिमेकी रुसको विरुद्ध युक्रेनलाई प्रयोग गर्न खोज्दा र युक्रेन त्यो भुमिकाको निम्ति तयार हुँदा आजको यो आक्रमण, युध्द र अस्तित्व बिसर्जनको दुःखद घटना उत्पन्न भयो। नेपालले आफ्नो भुराजनीतिक संवेदनशीलतालाई ध्यान दिदै यस घटनाबाट समेत शिक्षा लिन सक्नु पर्दछ।’

उहाँले रुसले युक्रेनमाथि गरेको आक्रमण र अतिक्रमणको भर्त्सना समेत गर्नु भयो । युक्रेनको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र आत्मनिर्णयको सम्मान गर्न र आक्रमण अन्त्य गरी युक्रेनबाट फिर्ता हुन रुससँग माग समेत गर्नु भयो ।

‘सार्वभौमिक समानता र बिश्व शान्तिको पक्षमा उभिन सबैसँग अपील गर्दछौं’, उहाँले भन्नु भयो।


प्रकाशित | १४ फाल्गुन २०७८, शनिबार १५:१०