बेलायतमा कोरोनाबाट युरोपमै सबैभन्दा धेरै मृत्यु

लण्डन:  कोरोना भाइरसको संक्रमणबाट बेलायतमा मृत्यु हुनेहरुको संख्या युरोपकै सबैभन्दा उच्च भएको छ । पछिल्लो २४ घण्टामा ६ सय ९३ जनाले ज्यान गुमाएपछि बेलायतमा हालसम्मको मृतक संख्या २९ हजार ४ सय २७ पुगेको छ ।  यसअघि युरोपमा सबैभन्दा बढी मृत्यु भएको इटलीमा मंगलबारसम्म २९ हजार ३ सय १५ जनाको ज्यान गएको छ ।

मंगलबार सरकारको दैनिक ‘कोरोना ब्रिफिङ’ लाई सम्बोधन गर्दै बेलायत सरकारका परराष्ट्रमन्त्री डोमिनिक राबले कोरोना संक्रमणबाट यति ठूलो संख्यामा मानिसहरुको मृत्यु हुनु देशको लागि ठूलो वियोग भएको बताएका छन् ।

तर यो संख्यालाई अन्य देशहरुको तथ्यांकसंग तुलना गर्नु उचित नहुने उनले बताए । अरु देशहरुबाट सार्वजनिक गरिएको तथ्यांक वास्तविक नहुन सक्नेतर्फ उनले संकेत गरे । मन्त्री राबले महामारी अझै पार भइनसकेको भन्दै सरकारले तय गरेका पाँच आधार तयार नभइञ्जेल ‘लकडाउन’ र सामाजिक दूरीको नियम कायम रहने पनि बताए ।

सोमबार बेलायतमा ८४ हजार ८ सय ६ वटा परीक्षण गराइएको उनले जानकारी दिए । जसमध्ये ४ हजार ४ सय ६ जनामा संक्रमण भेटिएको छ । यससंगै बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या १ लाख ९४ हजार ९ सय ९० पुगेको छ ।

अप्रिल अन्त्यदेखि दैनिक लाख परीक्षणको लक्ष्य बनाएको बेलायत सरकार पछिल्लो तीन दिन भने आफ्नो लक्ष्यबाट चुकेको छ । सोहि अवसरमा बेलायत सरकारकी ‘डेपुटी चिफ साइन्टिफिक एड्भाइजर’ एञ्जिला म्याकलिनले पछिल्लो समय मृत्यु हुनेको समग्र संख्या घट्दै गएको तथ्यांक प्रस्तुत गरिन् ।

अप्रिल २४ सम्मको एक सातामा अस्पतालमा भएका मृत्यु घटेको तर ‘केयर होम’ हरुमा मृत्यु संख्या बढेको उनले बताइन् । रेल, ट्युब, बस लगायतका सार्वजनिक यातायातको प्रयोगमा उल्लेखनीय कमी देखिएपनि ‘प्राइभेट मोटर’ हरुको प्रयोगमा देखिएको वृद्धि भने चिन्ताजनक रहेको उनको भनाइ थियो ।


प्रकाशित | २४ बैशाख २०७७, बुधबार ०८:४२