काठमाडौँमा परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौँमा परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको दर बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको हो ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० जनामा पुष्टि हुने गरेको महानगरपालिकाले जनाएको छ । हाल परिक्षणको कामलाई व्यापक बनाइएको जानकारी प्राप्त भएको छ ।

सङ्क्रमण पुष्टि भएको १४ दिनपछि पुनः परीक्षण गर्नु नपर्ने मान्यता रहे पनि कामपाको हकमा भने १४ दिनपछि निको भएकाहरुले पनि पुनः परीक्षणको माग राख्दै आएकाले केही समस्या भएको छ । अहिलेसम्म कामपाले सबैको निःशुल्क परीक्षण गर्दै आएको छ । हालसम्म महानगरपालिकामा ५१ हजार ४१२ जना कोरोना संक्रमित रहेका छन् ।

तीमध्ये १० हजार ८०१ सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा बढी वडा नं ३२ मा ४ हजार ७५५ रहेको छ भने सबैभन्दा कम वडा १८ मा २०७ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी हालसम्म ४० हजार २३६ जना कोरोना मुक्त भएका छन् । कोरोना संक्रमणकै कारण ३४५ ले ज्यान गुमाएका छन् ।


प्रकाशित | ३ जेष्ठ २०७८, सोमबार ०९:२५