आठौं राष्ट्रिय खेलकुद सम्पन्न: १४० स्वर्णसहित आर्मी च्याम्पियन

नेपालगंज :  आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । खेल प्रदेश ५ मा बुधबार सम्पन्न भएको हो । प्रतियोगिताको अन्तिम दिन बुधबार ४ खेलको प्रतिस्पर्धा सकिएसँगै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गरिएको हो । आगामी नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा गरिने निर्णय गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बोर्ड बैठकले नवौं गण्डकीमा आयोजना गर्ने निर्णय गरिएको हो । गण्डकीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोलीले वर्चश्व कायम गरेका छन् । प्रतियोगिताको शीर्ष तीन स्थान विभागीय टोलीले हात पारेका हुन ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले टिम च्याम्पियनको उपाधि जित्यो । यस्तै नेपाल पुलिस क्लबले दोस्रो र एपीएफ क्लबले तेस्रो स्थान हासिल गर्यो । सर्वाधिक पदक जितेको आर्मीले १४० स्वर्ण, ८२ रजत र ६७ कांस्य पदकसहित कुल २८९ पदक जितेको छ । सातौंमा पनि टिम च्याम्पियन्स बनेको आर्मीले ११३ स्वर्णसहित कुल २२५ पदक जितेको थियो । नेपाल पुलिस क्लबले ६२ स्वर्ण, ४७ रजत र ४६ कांस्यसहित कुल १५५ पदक जितेर दोस्रो स्थान ओगटेको छ ।

तेस्रो स्थानको सशत्र प्रहरीको एपीएफ क्लबले ५३ स्वर्ण, ६९ रजत र ८० कांस्यसहित कुल २०१ पदक पदक जितेको छ । प्रदेश ३ ले २२ स्वर्ण, ४० रजत र ६० कांस्य पदक गरी १२२ पदक हात पारेको छ । प्रदेश ५ ले ११ स्वर्ण, २६ रजत र ४८ कांस्यसहित ८५ पदक जित्दा गण्डकीले १२ स्वर्ण, २१ रजत र ४४ कांस्यसहित ७७ पदक जितेको छ ।

यस्तै एनआरएनएले ६ स्वर्ण, २ रजत र ५ कांस्यसहित १३ पदक जितेको छ भने कर्णाली प्रदेशले ३ स्वर्ण, ४ रजत र १७ कांस्यसहित २४ पदक, सुदुरपश्चिम प्रदेशले ८ स्वर्ण, १२ रजत र ३४ कांस्यसहित ५४ पदक जितेको छ ।  प्रदेश १ ले ९ स्वर्ण, २० रजत र ५९ कांस्य सहित ८८ पदक जित्दा प्रदेश २ ले ६ स्वर्ण,७ रजत र २० कांस्यसहित ३३ पदक जितेको छ । ।


प्रकाशित | ११ बैशाख २०७६, बुधबार २१:०८