टेलिकमको नाफा सवा ७ अर्ब घट्यो

काठमाडौं :  सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को नाफामा एक वर्षमै ७ अर्ब २७ करोड रुपैयाँले कमी आएको छ । अघिल्लो आर्थिक वर्ष (२०७४-७५) मा १७ अर्ब ४८ करोड ३८ लाख नाफा गरेको कम्पनीले गत आर्थिक वर्ष (२०७५-७६) मा मा १० अर्ब २० करोड ८१ लाखमात्र आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा कम्पनीको नाफामा ४८.६१ प्रतिशतले गिरावट आएको हो ।

टेलिकमले बिहीबार प्रकाशित गरेको वार्षिक वित्तीय प्रतिवेदनअनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा गत वर्षको नाफा सवा ७ अर्ब रुपैयाँले कम रहेको उल्लेख छ । टेलिकमले मोबाइल सेवाको नवीकरणवापत गत वर्ष ४ अर्ब रुपैयाँ बुझाएकाले पनि मुनाफामा कमी आएको देखिएको हो । तर, समग्रमा कम्पनीको वित्तीय अवस्था पनि सन्तोषजनक भने छैन ।टेलिकमको नाफा घट्नुमा समयसापेक्ष सेवा विस्तार गर्न नसक्नु, अन्तर्राष्ट्रिय कलवाट हुने आम्दानी घट्नु, एडीएसएल र फिक्स्ड लाइनका ग्राहक घट्नुका साथै मोबाइल लाइसेन्स वापतको शुल्क भुक्तानी नै मुख्य कारण रहेका छन् । कम्पनीले सेवाबाट गर्ने आम्दानीमा ठूलो गिरावट आएको छ । यो समाचार आजको कारोबार दैनीकमा छ ।

गत आवको वैसाखदेखि असारसम्म टेलिकमले २ अर्ब ३७ करोड ४८ लाख रुपैयाँ नाफा गरेको छ । जबकी अघिल्लो आवको सोही अवधिमा ४ अर्ब ८६ करोड ९० लाख रुपैयाँ नाफा गरेको थियो । २०७५-७६ मा कम्पनीले ४३ अर्ब ४८ करोड आम्दानी गरेको थियो भने अघिल्लो आवमा ४५ अर्ब २६ करोड रुपैयाँ आम्दानी गरेको थियो । खासगरी ‘ओभर दी टप सर्भिस’को लोकप्रियताका कारण भ्वाइसबाट हुने आम्दानी घट्दा कम्पनीको आम्दानी घटेको छ प्रतिस्पर्धी बजारमा टेलिकमले आफ्नो सेवालाई विविधीकरण गर्न नसक्दा नाफामा गिरावट आएको जानकारहरू बताउँछन् । पछिल्ला तीन वर्षमा टेलिकमले सेवावाट गर्ने आयमा क्रमशः गिरावट आएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा दूरसञ्चार सेवावापतको आम्दानी २ अर्ब ७३ करोडले घटेको छ । कम्पनीले यस्तो सेवामार्फत ३६ अर्ब ७८ करोड रुपैयाँ आम्दानी गरेको छ । टेलिकमले यस वर्ष ४ अर्ब २ करोड रुपैयाँ लाइसेन्स शुल्क भुक्तानी गरेको छ । यसले नाफामा प्रभाव पारेको कम्पनीकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् । कम्पनीको अन्य आम्दानी ७.२३ प्रतिशतले बढेर ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको छ । आम्दानीमा गिरावटसँगै प्रशासनिक खर्च भने ११ प्रतिशतले बढेको छ । गत वर्षमा यस्तो खर्च १ अर्ब ५० करोड रुपैयाँ छ । यस्तो खर्चमा कर्मचारीको तलब भत्तादेखि अन्य प्रशासनिक खर्च पर्ने गरेको उनले बताइन् । वित्तीय प्रतिवदेनअनुसार कम्पनीको कुल खर्च १४ प्रतिशतले बढेको छ । जम्मा खर्च २४ अर्ब ६५ करोडबाट २८ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

पछिल्लो समय टेलिकम्युनिकेसनहरूको भ्वाइस कलमार्फतको आम्दानी इन्टरनेटको सुलभताका कारणले घट्दै आएको हो । डेटा सेवालाई प्राथमिकता दिए पनि कम्पनीले बजारमाग अनुसार सेवा विस्तार गर्न नसक्दा अपेक्षाकृत लाभबाट चुकेको सरोकारवालाको भनाइ छ । कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा ८६ अर्ब ७३ करोड रुपैयाँ जम्मा भएको छ । मोबाइल सेवामा कम्पनीले लाइएसेन्स शुल्कमा तिर्नुपर्ने २० अर्बको किस्तावापतको ४ अर्ब २ करोड ६९ लाख रुपैयाँ तिरेको छ भने अघल्लिो वर्ष २०७४-७५ मा ६ करोड ४७ लाख रुपैयाँ मात्रै बुझाएको थियो । कर्पाेरेट ट्याक्स २५ बाट बढेर ३० प्रतिशत पुगेपछि त्यसको असर नाफामा देखिएको कम्पनीका अधिकारीको भनाइ छ । कम्पनीले गत वर्ष ९० करोड रुपैयाँ कर्पाेरेट ट्याक्सवापत बुझाएको छ ।

प्रविधिको विकाससंगै फिक्स्ड लाइन ग्राहक मोवाइलमा गएसंगै पीएसटीएन र एडीएसएलको आम्दानी पनि घटेको प्रवक्ता वैद्यले बताइन् । आउने दिनमा आम्दानी बढाउनका लागि कम्पनीले भ्यालु एडेड सेवामा जोड दिने र फोरजी विस्तारलाई प्राथमिकता दिने उनले बताइन् । टेलिकममा सरकारको ९१.४९ सर्वसाधारणको ४.४४, कर्मचारीको ४.०४ र नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर स्वामित्व रहेको छ । टेलिकमको मोबाइल र आधारभूत टेलिफोन सेवा गरेर २ करोडभन्दा बढी प्रयोगकर्ता रहेका छन् ।


प्रकाशित | ३१ श्रावण २०७६, शुक्रबार ११:५०