एनआरएनएले १०० वटा अक्सिजन कन्सन्ट्रेटर र ६०० थान सिलिन्डर शनिबारसम्म काठमाडौँ ल्याइसक्ने

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले नेपालमा चीनबाट १०० वटा अक्सिजन कन्सन्ट्रेटर र ओमानबाट ६००  थान सिलिन्डर ल्याउने प्रयास भइरहेको जनाएको छ । कोरोनाका बिरामीलाई अक्सिजन पुऱ्याउन कठिन भइरहेका बेला एनआरएनएले शनिबारसम्म काठमाडौँ ल्याइसक्ने प्रयास भइरहेको जनाएको हो।

संघका अध्यक्ष कुमार पन्तले विदेशबाट ल्याउन लागिएको १०० वटा अक्सिजन कन्सन्ट्रेटर र ६०० सिलिन्डर शनिबारसम्म ल्याउने प्रयास भइरहेको जानकारी गराउनुभयो ।

‘विदेशबाट ल्याइन लागिएको ती स्वास्थ्य सामाग्री जति सक्दो छिटो ल्याउन प्रयास भइरहेको छ’, अध्यक्ष पन्तले भन्नुभयो, ‘ती स्वास्थ्य सामाग्री खरिद गरि नेपाल ल्याउनको लागि नेपाल सरकासँग समन्वय गरेर आवश्यक प्रक्रिया पनि पूरा गरिसेका छौ, सम्भवत शनिबार वा आइतबारसम्म नेपाल आइपुग्छ ।’

संघले यसअघि कोभिड प्रभावित नेपालीलाई तत्काल दुई करोड रुपैयाँ बराबरको १ सय वटा अक्सिजन कन्सनट्रेटरहरु खरिद गर्ने निर्णय गरेको थियो । त्यस्तै, गैर आवासीय नेपाली संघ मध्यपूर्वको सहयोगमा ६०० सिलिन्डर खरिद गर्न लागिएको हो ।

करिब दुई सातादेखि कोरोना संक्रमीत भएर सोमबार मात्र कोरोना जित्नु भएको संघका अध्यक्ष पन्त कोरोनामुक्त भएकै दिनदेखि संघका काममा सक्रिय हुनुहुन्छ ।

‘नेपालको अवस्था हेर्दा अत्यन्तै कहालीलाग्दो छ, आफ्नै आँखाले कोभिडका विरामीको अवस्था अस्पतालमा देखेर आएको छु’, उहाँले भन्नुभयो, ‘सबैले आ-आफ्नो ठाउँबाट सकेको सहयोग गर्न र एनआरएनएका साथीहरुलाई पनि सहयोगी हात अघि बढाउनु हुन आग्रह गर्न चाहान्छु । अध्यक्ष पन्तले विश्वभरिका गैर आवासीय नेपालीहरुले आफूले सक्ने सहयोग संकलन गर्दै नेपालमा आवश्यक सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

त्यस्तै, गैर आवासीय नेपाली संघका सचिव आरके शर्माले मध्यपूर्व बासी नेपालीहरूले ओमानबाट ४० लिटर क्षमताका ६०० सिलिन्डर यथा सक्दो छिटो नेपाल पठाउनको लागि अभियान शूरु गरिसकेको बताउनुभयो ।

गैर आबासीय नेपाली संघ ओमानका अध्यक्ष विकल झाले खाडी मुलुकमा रहेका नेपालीहरुको स्वतस्फुर्त सहयोगमा करिब ७५ लाख लागत पर्ने नेपाली रुपैयाँ बराबरको अक्सिजन सिलीण्डर नेपाल पठाउन लागिएको जानकारी गराउनुभयो । प्रति सिलीण्डर ४० लिटर अक्सिजन अट्ने ६०० थान सिलीण्डर खरीद गरी नेपाल पठाउने अन्तिम तयारीमा रहेको उहाँले बताउनुभयो ।


प्रकाशित | २९ बैशाख २०७८, बुधबार २२:००