मेस्सीलाई विश्वकप चुम्ने अन्तिम अवसर

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को फाइनलमा आज (आइतबार) राति साविकको विजेता फ्रान्सले उपाधिको बलियो दावेदार अर्जेन्टिनासँग खेल्दैछ ।

यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि लुसेल आइकोनिक रंगशालमा हुनेछ । अर्जेन्टिना र फ्रान्स आइतबार राति उपाधिका लागि आमाने–सामाने हुँदा दुवै टोली तेस्रो पल्ट विश्वको च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।

यो खेलमा सबैको ध्यान विश्व फुटबलका सुपर स्टार लियोनल मेस्सी र केलियन एमबाप्पेमा नै हुनेछ । दुवै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा व्यवसायिक खेल खेल्छन् ।

एमबाप्पे प्रेरित फ्रान्स लगातार दोस्रोपल्ट तथा समग्रमा चौथोपटक विश्वकपको फाइनलमा पुगेको टोली हो । फ्रान्स सन् १९९८ र २०१८ मा च्याम्पियन र २००६ मा उपविजेता बनेको थियो । साविकको उपविजेता फ्रान्स यसपटक पनि च्याम्पियन बन्दै उपाधि रक्षा गर्दै तेस्रो पटक च्याम्पियन बन्ने अभियानमा हुनेछ । एमबाप्पे ५ गोलसहित गोल्डेन बुटको दौडमा पनि रहेको छ ।

लगातार दुई संस्करणको फाइनलमा पुग्ने टोलीमा थपिएको फ्रान्सलाई लगातार दोस्रोपटक विश्वकपको उपाधि जित्ने सुनौलो अवसर छ । यसअघि सन् १९५८ र १९६२ मा पेले र ब्राजिलपछि ६० वर्षसम्म कुनैपनि टिमले लगातार दुईपल्ट विश्वकप जित्न सकेको छैन । यसपल्ट फ्रान्सलाई त्यो अवसर छ । सन् १९५८ र १९६२ मा ब्राजिलले लगातार दुईपटक विश्वकपको उपाधि जित्दै इतिहास बनाएको थियो । २०१८ मा विश्वकप फुटबलको उपाधि जितेको फ्रान्स पनि लगातार दुईपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छ ।

यता, पहिलो खेलमा साउदी अरेबियासँग २–१ को अप्रत्याशित हार ब्यहोरेको अर्जेन्टिनाले त्यसपछि उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा पुग्न सफल भएको छ । कप्तान लियोनल मेस्सी अर्जेन्टिनालाई कतार विश्वकपको उपाधि दिलाउँदै आफ्नो खेल जीवनलाई सुखद अन्त्य गर्न चाहन्छन् । त्यसैले पनि अर्जेन्टिना र मेस्सीका लागि यो फाइनल खेल धेरै अर्थपूर्ण छ । अर्जेन्टिनाको यो पाँचौं फाइनल हुनेछ । यता, दुईपटक ९सन् १९७८ र १९८६० को च्याम्पियन अर्जेन्टिना १९३०, १९९० र २०१४ मा उपविजेता बनेको थियो ।

सन् २०१४ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको फाइनलमा पु¥याएका कप्तान मेस्सीलाई यो अन्तिम मौका पनि हो । अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएमा सबैभन्दा सफल खेलाडी बन्नेछन् । फुटबलमा मेस्सीले जित्न नसकेको एक मात्रै उपाधि यही विश्वकप नै हो ।

३५ वर्षीय मेस्सी जसरी भए पनि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएरै खेल जीवनबाट विश्राम लिने तयारीमा छन् । उनले यस विश्वकपको फाइनल नै आफ्नो अन्तिम विश्वकप रहेको बताइसकेका छन् ।

उनी गोल्डेन बुटका मुख्य दाबेदार पनि हुन् । उनले जारी विश्वकपमा पाँच गोल गरिसकेका छन् । सन् २००६ देखि २०२२ सम्म उनले लगातार पाँच विश्वकप खेल्दै ११ गोल गरिसकेका छन् । फ्रान्सविरुद्धको फाइनल खेलमा कप्तान मेस्सीले विश्वकपमा अर्को कीर्तिमान बनाउनेछन् ।

विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान पनि मेस्सीको नाममा रहनेछ । यसअघि जर्मनीका म्याथ्युले विश्वकपमा २५ खेल खेल्दै कीर्तिमान बनाएका थिए । अब फ्रान्सविरुद्धको खेलसँगै उनले कुल २६ खेल पु¥याएर कीर्तिमान बनाउनेछन् ।


प्रकाशित | ३ पुष २०७९, आईतवार १३:२१