साउदी विमानस्थलमा ड्रोन आक्रमण

यमन: साउदी अरेबियाको सीमावर्ती शहर नजरानस्थित नजरान सैनिक विमानस्थलमा ड्रोन आक्रमण भएको छ । यमनका हुथी विद्रोहीहरुले विमानस्थलको हातहतियार भण्डारणमा ड्रोन आक्रमण गरेको विभिन्न् समाचार एजेन्सीहरुले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएअअनुसार हुथी विद्रोहीद्वारा सञ्चालित अल–मासिराह टेलिभिजनले कासिफ–के२ ड्रोनबाट गरिएको आक्रमणबाट हतियार भण्डारमा आगो लागेको छ ।

बिस्फोटक पदार्थ बोकेको ड्रोनबाट नजरान बिमानस्थललाई लक्षित गरी आक्रमण गरिएको साउदी समर्थित गठबन्धनका प्रवक्ता कर्णेल टुर्की अल–मलेकीले बताएका छन् । साउदी अरेबियाले पश्चिमी शहरहरु जेद्दाह र ताइफलाई लक्षित गरिएका ब्यालेस्टिक क्षेप्यास्त्रहरु ध्वस्त बनाएको दाबी गरेकै भोलिपल्ट नजरानमा हुथी विद्रोहीबाट ड्रोन आक्रमण भएको हो ।

हुथी विद्रोहीहरुले यमनमा युद्ध भडकिएदेखि नै साउदी अरेबियाका विभिन्न शहरहरुलाई लक्षित गरी आक्रमण गरिरहेका छन् । आइतबार, इरान समर्थित हुथी विद्रोहीहरुले साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा रहेका ३०० वटा महत्वपूर्ण सैनिक ठेगानाहरुमा आक्रमण गर्ने चेतावनी दिएको छ ।


प्रकाशित | ७ जेष्ठ २०७६, मंगलवार २१:३५