गण्डकीमा मुख्यमन्त्री नियुक्त गुरुङद्धारा शपथ ग्रहण

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त हुनु भएका पृथ्वी सुब्बा गुरुङले शपथ ग्रहण गर्नु भएको छ । उहाँलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । गुरुङले वैशाख २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीन दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दावी पेश गर्न आह्वान गर्नु भएको थियो ।

बुधबार नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई चार दलका ३१ सांसदको समर्थन रहेको भनी दावी पेश गर्नु भएको थियो । तर प्रदेश प्रमुख पौडेलले पोखरेलको दावी नपुग्ने भन्दै संविधानको धारा १६८ (३) अनुसार गुरुङलाई अल्पमतको सरकारको मुख्यमन्त्रीको रुपमा नियुक्त गर्नु भएको हो । अब मुख्यमन्त्री गुरुङले एक महीनाभित्रमा प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।


प्रकाशित | २९ बैशाख २०७८, बुधबार २०:१७